धादिङ । निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ ले उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन र फागुन ४ गतेदेखि सोही अनुरूप प्रचार–प्रसारमा जान अनिवार्य व्यवस्था गरेको छ । तर धादिङ निर्वाचन क्षेत्र नं. २ मा भने यो व्यवस्था व्यापक रूपमा उल्लङ्घन भएको संकेत देखिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङका सुचना अधिकारी राजेन्द्र लुईटेलका अनुसार धादिङ क्षेत्र नं. २ का २४ जना उम्मेदवारमध्ये हालसम्म केवल ४ जनाले मात्रै प्रतिबद्धतापत्र कार्यालयमा बुझाएका छन्।

कार्यालयमा प्रतिबद्धतापत्र बुझाउनेहरुमा

  • रमेश धमला, नेपाली काँग्रेस
  • बोध नारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी
  • उज्याले नेपाल पार्टी
  • स्वतन्त्र उम्मेदवार रुद्र बहादुर गेलाङ मगर मात्र रहेका छन्।

यता नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार राम बहादुर भण्डारी ले पत्रकार सम्मेलनमार्फत आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने औपचारिक रूपमा बुझाएका छैनन्।

त्यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, संयुक्त नागरिक पार्टी, मंगोल अर्गनाइजेसन, मितेरी नेपाल लगायत अन्य स्वतन्त्र उम्मेदवारहरूले पनि न त प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्, न त कार्यालयमा बुझाएका छन्।

आचारसंहिता उल्लङ्घनमा कसले ध्यान दिने ?

निर्वाचन आचारसंहिता स्पष्ट हुँदाहुँदै अधिकांश उम्मेदवारले कानुनी प्रावधानको पालना नगरेको अवस्था देखिनुले निर्वाचन प्रक्रिया नै प्रश्नको घेरामा परेको छ। फागुन ४ गतेदेखि प्रचार–प्रसार सुरु भइसक्दा समेत प्रतिबद्धतापत्र नबुझाउनु गम्भीर लापरबाही हो वा जानाजानीको बेवास्ता?

राजनीतिक विश्लेषकहरूका अनुसार प्रतिबद्धतापत्र सार्वजनिक गर्नु मात्र पर्याप्त होइन, त्यसलाई आधिकारिक रूपमा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु कानुनी दायित्व हो। अन्यथा उम्मेदवारहरू आचारसंहिता उल्लङ्घनमा कारबाहीको दायरामा पर्न सक्ने कानुनी आधार रहेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0