धादिङ । धादिङ निर्वाचन क्षेत्र नं–२ बाट नेकपाका उम्मेदवार रामबहादुर भण्डारीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। सार्वजनिक प्रतिबद्धतामा सुशासन, शिक्षा–स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि, सामाजिक न्याय तथा युवा–खेलकुदलाई प्राथमिकतामा राखिएको छ।
१) सुशासन र सार्वजनिक सेवा प्रवाह
भण्डारीले पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ। नागरिकले सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
२) शिक्षा र स्वास्थ्य
उहाँले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने तथा सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने योजना अघि सार्नुभएको छ। गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामार्फत मानव पूँजी विकास गर्ने लक्ष्य रहेको उल्लेख छ।
३) भौतिक पूर्वाधार विकास
बहुचर्चित बुढी गण्डकी हाईड्रोपावरलाई कार्यान्वयनमा लैजान प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ। साथै धादिङ–साङकोष–तिप्लिङ सडक कालोपत्रे गर्ने, धादिङबेसी बजारलाई भूमिगत तार प्रणालीमार्फत ताररहित (अन्डरग्राउन्ड केबल) बनाउने योजना पनि समेटिएको छ।
४) पर्यटन प्रवर्द्धन र रोजगारी
रुवीभ्याली र गंगाजमुनालाई सांस्कृतिक तथा पर्यटकीय मैत्री गाउँका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। साथै भैरवी मन्दिर, चमेरे गुफा, बागेश्वरी मन्दिर हुँदै नेत्रावती डवजोङ जोड्ने पर्यटकीय पदमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ। पर्यटन विकासमार्फत स्थानीय रोजगारी सृजना गर्ने लक्ष्य छ।
५) कृषि उद्योग र आत्मनिर्भरता
कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिई स्थानीय स्तरमै कृषि उद्योग प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसबाट किसानको आम्दानी वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
६) सामाजिक न्याय एवं सामाजिक सुरक्षा
विपन्न, ज्येष्ठ नागरिक, महिला, दलित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउने योजना समेटिएको छ।
७) युवा तथा खेलकुद
युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने तथा स्थानीय तहमा खेलकुद पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार भण्डारीले आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै विकासको दिगो आधार तयार गर्ने दाबी गर्नुभएको छ।









