धादिङ/काठमाडौं, फागुन ३ गते
आज हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ,बिहानैदेखि देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।
धादिङ जिल्लाको सिद्धलेक, धादिङ को पशुपति मन्दिरमा , मुक्त्तीनाथ (कुम्पुर) तथा गुप्तेश्वरी मन्दिर लगायतका शिवालयहरूमा विशेष पूजाआजा, भजन–कीर्तन र मेला आयोजना गरिएको छ। स्थानीयवासी तथा बाहिरबाट आएका श्रद्धालुहरू रातभर जाग्राम बसेर भगवान् शिवको आराधना गरिरहेका छन , मन्दिर परिसरहरूमा दीप प्रज्वलन, प्रसाद वितरण तथा धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
त्यस्तै, काठमाडौंस्थित ऐतिहासिक पशुपतिनाथ मन्दिरमा नेपाल र भारतबाट आएका हजारौं भक्तजनको उल्लेख्य भीड लागेको छ , सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू परिचालन गरिएका छन्। पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउन विशेष तयारी गरेको जनाएको छ।
महाशिवरात्रिका दिनलाई नेपालमा सेना दिवसको रूपमा पनि मनाइने परम्परा रहेको छ। सोही अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष परेड तथा विविध सैनिक कला प्रदर्शन गरेको छ। कार्यक्रममा राष्ट्रपतिज्यू, प्रधानमन्त्री तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सेनाले आफ्नो अनुशासन, दक्षता र अत्याधुनिक उपकरणसहितको क्षमता प्रदर्शन गरेको थियो।
महाशिवरात्रि भगवान् शिवको उत्पत्ति तथा विवाहसँग सम्बन्धित धार्मिक विश्वाससँग जोडिएको पर्व हो। यस दिन व्रत बस्ने, बेलपत्र चढाउने, धूप–दीप प्रज्वलन गर्ने तथा ‘ॐ नमः शिवाय’ जप गर्ने परम्परा छ।
आजको दिन धार्मिक आस्था र राष्ट्रिय गौरव दुवैको प्रतीकका रूपमा देशभर उत्साहपूर्ण वातावरण देखिएको छ।






