धादिङबेसी, २ फागुन २०८२

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ धादिङबेसीमा आयोजित ‘बागमती प्रदेश स्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशका ८ जिल्लाबाट सहभागी १९ उत्कृष्ट विद्यालयबीच भएको प्रतिस्पर्धामा काठमाडौँको ईलेन मेमोरियल स्कुलले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हात पारेको छ।

प्रथम हुँदै ईलेन मेमोरियल स्कुलले नगद रु १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, सिन्धुपाल्चोकको प्राइभेट प्याराडाइस सेकेन्डरी स्कुल द्वितीय बन्दै नगद रु १२ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो,  आयोजक जिल्ला धादिङको एड्भान्स एकेडेमी तृतीय हुँदै नगद रु १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ।

प्रतियोगितामा धादिङकै सक्सेस एकेडेमी र चिल्ड्रेन पार्क बोर्डिङ स्कुल, भक्तपुरका त्रिस्टार एकेडेमी र मित्र सी पाठशाला तथा काभ्रेको लिन इन्टरनेसनलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। सहभागी विद्यार्थीहरूले नेपालका विभिन्न जातजाति, भाषा, भेषभूषा र भूगोल झल्किने सांस्कृतिक झाँकीसहित आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

प्याब्सन बागमती प्रदेशको आयोजनामा सम्पन्न प्रतियोगिताको संयोजन प्याब्सन धादिङले गरेको  कार्यक्रम , धादिङबेसीस्थित क्रिक रिसोर्टको सभाहलमा आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यालयहरूले अब प्याब्सनको केन्द्रीय (राष्ट्रिय) स्तरीय लोक नृत्य प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रम बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सन्जेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने केन्द्रीय उपाध्यक्ष किशोर गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रदेश, केन्द्र तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले नयाँ पुस्तामा नेपाली मौलिक कला र लोक संस्कृतिको संरक्षणमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

यसैबीच, आयोजक जिल्ला धादिङको एड्भान्स एकेडेमीले तेस्रो स्थानमा सीमित भए पनि प्रदेशस्तरमा आफ्नो साख कायमै राखेको छ। एड्भान्स एकेडेमीले २०७९ सालमा प्रदेशमा प्रथम हुँदै राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गरेको थियो। २०८० मा प्रदेशमा द्वितीय र २०८१ मा पुनः प्रदेश प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो।

धादिङबेसीको आँगनमा सम्पन्न यस सांस्कृतिक महोत्सवले विद्यार्थीहरूमा कला, संस्कृति र परम्पराप्रति थप उत्साह जगाएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0