काठमाडौँ, २२ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश क्षेत्रमा अग्रस्थानमा देखिएको छ।
निर्वाचन आयोगका अनुसार आज बेलुका ७:४५ बजेसम्म गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमध्ये रास्वपाका उम्मेदवार १०८ क्षेत्रमा अगाडि रहेका छन्। त्यसैगरी नेपाली कांग्रेस १२ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सात क्षेत्रमा अग्रता कायम गरेका छन्।
यसैबीच श्रम संस्कृति पार्टीका उम्मेदवार छ क्षेत्रमा अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवार एक–एक क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले दुई निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ। त्यस्तै नेपाली कांग्रेसले दुई र नेकपाले एक क्षेत्रमा जित दर्ता गरेका छन्।
देशभर मतगणना कार्य जारी रहेको र क्रमशः थप परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।






