काठमाडौँ,
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इरानका ऊर्जा पूर्वाधार तथा बन्दरगाहहरूमा आक्रमण भएमा क्षेत्रभर रहेका तेल र ग्यास संरचनामाथि “विनाशकारी प्रतिक्रिया” दिने चेतावनी दिएको छ।
आधिकारिक Islamic Republic of Iran Broadcasting का अनुसार IRGC ले जारी गरेको विज्ञप्तिमा आक्रमणकारी देश र उसका सहयोगीहरूलाई सामान्य आक्रमणको पनि कडा जवाफ दिइने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी आक्रमणकारी सरकार र उसका सहयोगीहरूलाई सामान्य आक्रमणको पनि कडा जवाफ दिने चेतावनी दिन्छौँ। यस्तो अवस्था सिर्जना भए क्षेत्रका सबै तेल–ग्यास पूर्वाधारहरू नष्ट गरिनेछन्।”
यसबीच इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य (Hormuz Strait) क्षेत्रमा अन्तर्राष्ट्रिय मालवाहक जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाउँदै आएको बताइएको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
United States Central Command (CENTCOM) का अनुसार युद्ध सुरु भएयता अमेरिकाले ६० भन्दा बढी जहाज तथा ५,५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ।
इरानका उच्च सुरक्षा अधिकारी अली लारिजानी (Ali Larijani) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूल्याङ्कनलाई गलत ठहर गर्दै इरान पछि नहट्ने बताएका छन्। उनले भने, “पछुतो नभएसम्म हामी पछि हट्ने छैनौं।”
अमेरिकाले छिटो जित हासिल गर्ने धारणा पनि लारिजानीले अस्वीकार गरेका छन्। उनले भने, “युद्ध सुरु गर्न सजिलो भए पनि केही ट्विटमार्फत यसलाई जित्न सकिँदैन।”
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा सुरक्षा अवस्थामाथि गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।






