बद्री पौडेल

काठमाडौं , ८ चैत्र २०८२

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न भएको छ। कन्भेन्सनले आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।

निर्वाचन परिणामअनुसार डिष्ट्रिक्ट गभर्नरमा लायन सुर्य कुमार केसी, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन शैलेन्द्र मोहन भट्टराई तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन विष्णु प्रसाद भण्डारी निर्वाचित भएका छन्। कुल १२२ मत खसेकोमा तीनै जना उम्मेदवारले समान ११९ मत प्राप्त गरेका थिए।

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर (इलेक्ट) लायन सुर्य कुमार केसीले क्याबिनेट सेक्रेटरीमा लायन अनुज कुमार श्रेष्ठ र क्याबिनेट ट्रेजररमा लायन शिव बहादुर काफ्लेलाई मनोनयन गरेका छन्। त्यसैगरी लियो डिष्ट्रिक्टतर्फ लियो आमोद नेपाल प्रेसिडेन्ट र लायन विभुशा बस्नेत भाइस प्रेसिडेन्टमा निर्वाचित भएका छन्।

कार्यक्रम लायन वर्ष २०२५/२६ का डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत झण्डै २३३ वटा क्लब आवद्ध रहेका छन्।

लायन्स क्लब इन्टरनेसनल विश्वकै ठूलो सामाजिक संस्था मानिन्छ, जसको स्थापना सन् १९१७ जुन ७ मा मेल्भिन जोन्सले गरेका थिए। नेपालमा भने यसको सुरुआत सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाबाट भएको हो। विश्वमा लायन्सको इतिहास १०९ वर्ष नजिक पुगिसकेको छ भने नेपालमा झण्डै ५५ वर्ष पुगेको यस संस्थामा प्रत्येक वर्ष नियमित रूपमा निर्वाचनमार्फत नेतृत्व चयन हुने र सहज रूपमा नेतृत्व हस्तान्तरण हुने परम्परा रहेको छ। पहिलो उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणालीसमेत यस सस्थाको बिशेषता मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0