धादिङ , ७ चैत्र २०८२
“आमाको माया छात्रावास” को दोस्रो वार्षिकोत्सव धूमधामका साथ सम्पन्न भएको छ। जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित उक्त छात्रावासको वार्षिकोत्सव अध्यक्ष डा. नविन बन्धु पहाडीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद बोधनारायण श्रेष्ठ प्रमुख अतिथि तथा प्रदेश सांसद गोविन्द लम्साल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा छात्रावास व्यवस्थापन समितिका सदस्य तथा दोस्रो वार्षिकोत्सवका संयोजक कृष्ण बद्री पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि श्रेष्ठले “आमाको माया” भन्ने नाम नै पर्याप्त अर्थपूर्ण र भावनात्मक रहेको उल्लेख गर्दै यसले समाजमा ठूलो योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले यस्ता संस्थाहरूको संरक्षण र बालबालिकाको हेरचाह राज्यको दायित्व पनि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, विशेष अतिथि लम्सालले छात्रावासको विकास र सञ्चालनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका अध्यक्ष डा. पहाडीले छात्रावासको स्थापना, उद्देश्य र हालसम्मको प्रगतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो। सचिव राजेन्द्र राना मगरले आगामी योजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राधिका दंगालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रका ११० भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो। कार्यक्रममा नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो। साथै, केन्द्रबाट आउनुभएका मिलन भट्टको पनि विशेष उपस्थिति रहेको थियो।
मिलन भट्टका अनुसार जनजाति कल्याण आश्रम, नेपालले देशका ११ स्थानमा यस्ता छात्रावास सञ्चालन गर्दै आएको छ। पर्सा, काठमाडौं, झापा, मोरङ, धनुषा, दोलखा, चितवन, नुवाकोट, धादिङ, कैलाली र बाँकेमा छात्रावास सञ्चालनमा रहेका छन्।
हाल धादिङस्थित “आमाको माया छात्रावास” मा २४ जना बालबालिका आश्रित रहेका छन्। कार्यक्रममा छात्रावासमा बसोबास गर्ने बालबालिकाहरूले योग, स्वागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी उपस्थित दर्शकको मन जितेका थिए।
समाजका विभिन्न तह र क्षेत्रबाट सहयोग जुटाउँदै बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्रिय रहेको यस छात्रावासले आगामी दिनमा अझ प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।








