काठमाडौँ, १५ चैत — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय हुँदा देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात भइरहेको छ।
महाशाखाले जनाएको अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0