धादिङ — नीलकण्ठ नगरपालिका–८ को मैदी भञ्ज्याङ् र सिद्धलेक गाउँपालिका–१ को चेडुखोला  एक्लेफाँट हुँदै गाई फार्म जाने सडकमा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको छ। करिब ३ करोड १५ लाखभन्दा बढी लागतमा निर्माण गरिएको उक्त पुलमा  दैनिक  त के, महिनौंसम्म एउटा सवारीसाधनसमेत ओहोरदोहोर नगर्ने अवस्था रहेको बताइएको छ।

स्थानीयका अनुसार अत्यन्त न्यून सवारी चाप रहेको स्थानमा ठूलो बजेट खर्च गरेर पुल निर्माण गरिए पनि दैनिक सयौं सवारीसाधन गुड्ने साङ्कोष–तिप्लिङ सडक (दामन पाख्रीन मार्ग) अन्तर्गत पुच्छार बजार क्षेत्रमा भने अझैसम्म पक्की पुल निर्माण हुन सकेको छैन। सो स्थानमा हाल केवल कल्भर्ट मात्र रहेको र वर्षायाममा खोलाले बगाउँदा मानिससमेत जोखिममा पर्ने तथा दुर्घटनाका घटनासमेत भइसकेका छन्।

त्यस्तै, धौखोलाभन्दा केही पर कटुसघारी हुँदै सुन्दरपानी जाने सडक कालोपत्रे गरिएको छ, जहाँ न्यून मात्रामा सवारी गुड्ने गरेको स्थानीय बताउँछन्। तर,  धौ खोला ,अमराई हुँदै मैदी जाने सडकमा भने दैनिक सयौं सवारीसाधन गुड्ने भए पनि सामान्य ग्राभेलसमेत नभएकोले यात्रु र चालक दुवैलाई सास्ती खेप्नुपरेको छ। साथै हरेक मंगलबार ढोला मण्डलीमा ठूलो मेला लाग्छ ,सयौं मोटरसाइकल ,गाडी गुड्छ तर बाटो खराव भएर बाटोमा अलपत्र बस्नु पर्ने हुन्छ  ।

“जहाँ अत्यधिक आवश्यकता छ, त्यहाँ पूर्वाधार नपुगेको र जहाँ आवश्यकता नै छैन, त्यहाँ ठूलो बजेट खर्च गरिएको छ,” एक स्थानीयले भने, “यस्तो विकासले सुविधा होइन, झन् समस्या थपेको छ।”

स्थानीयवासीले आगामी दिनमा योजना छनोट र कार्यान्वयन गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले दीगो र उपयोगी पूर्वाधार निर्माणमार्फत जनताको जीवन सहज बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0