बद्री पौडेल

धादिङ  ,  १० बैशाष २०८३

धादिङ , गङ्गाजमुना गाउँपालिका–७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा यही २०८३ बैशाख १३ र १४ गते दुई दिने बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा हुने उक्त शिविर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर को प्रमुख आतिथ्यमा सम्पन्न हुने जनाइएको छ।

शिविरमा सर्वसाधारणका लागि विभिन्न निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछन्। जस अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा, हाडजोर्नी तथा नसारोग उपचार, स्त्रीरोग सम्बन्धी सेवा (पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण सहित), बालरोग सेवा, आँखा जाँच तथा उपचार, प्रमुख नसर्ने रोगहरूको स्क्रिनिङ, दन्तरोग सेवा, भिडियो एक्स–रे तथा ईसीजी, पोषण परामर्श, नाक–कान–घाँटी रोग सेवा लगायतका सुविधा समेटिएका छन्।

त्यसैगरी, शिविरमा निःशुल्क परिवार नियोजन सेवा तथा स्याटेलाइट क्लिनिक (स्थायी बन्ध्याकरण सहित) पनि सञ्चालन गरिने जनाइएको छ।

शिविर बिहान १० बजेदेखि सञ्चालन हुने छ। स्थानीयवासीलाई उक्त अवसरको सदुपयोग गरी स्वास्थ्य जाँच तथा उपचार सेवा लिन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रममा KMC शिक्षण अस्पताल काठमाडौं, धादिङ अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ र तिलगंगा आँखा प्रतिष्ठान धादिङको प्राविधिक सहयोग रहने छ। उक्त शिविर गङ्गाजमुना गाउँपालिका र जनस्वास्थ्य कार्यालय धादिङको सहकार्यमा आयोजना हुन लागेको  जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले बत्ताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0