गान्तोक, सिक्किम
भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सिक्किममा सम्पन्न दुई दिने ऐतिहासिक भ्रमण अत्यन्तै सफल र व्यवस्थित रूपमा सम्पन्न भएको छ। उक्त भ्रमणको सफलतामा सबै सरकारी निकाय, विभिन्न सरकारी एजेन्सी, सुरक्षा निकाय तथा एसकेएम पार्टीका युवा, नारी र अन्य भ्रातृ संगठनहरूको समन्वित प्रयासले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आफ्नो सिक्किम भ्रमणका क्रममा नेपाली भाषामा सम्बोधन गर्दै सिक्किमी जनताको मन जित्न सफल हुनुभयो। उहाँले सिक्किमी परम्परागत टोपी लगाएर नेपाली भाषा र संस्कृतिप्रति सम्मान व्यक्त गर्नुभएको थियो।
माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) को गतिशील नेतृत्व, स्पष्ट निर्देशन, उत्कृष्ट समन्वय तथा सूक्ष्म व्यवस्थापन क्षमताका कारण कार्यक्रमका सबै पक्षहरू अत्यन्तै व्यवस्थित र अनुशासित ढंगले सम्पन्न भएका थिए। प्रोटोकल व्यवस्थापनदेखि लिएर जनसहभागिता, आतिथ्य सत्कार र समग्र कार्यक्रम सञ्चालनसम्म “टिम सिक्किम” ले आफ्नो एकता र क्षमताको उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ।
भ्रमणका क्रममा केन्द्रीय तहका विभिन्न नेता तथा अधिकारीहरूसँगको भेटघाटमा उनीहरूले सिक्किमको उत्कृष्ट व्यवस्थापन, प्रभावकारी समन्वय र आत्मीय आतिथ्यप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए। उनीहरूको सकारात्मक प्रतिक्रिया ले राष्ट्रिय स्तरमा सिक्किमले बलियो छाप छोड्न सफल भएको संकेत गरेको छ।
मुख्यमन्त्रीको परिकल्पनाअनुसार “टिम सिक्किम” को क्षमता आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गरिएको छ। यस्तो प्रकारको सम्मान र प्रशंसाले राज्यलाई अझ एकताबद्ध, समृद्ध र प्रगतिशील दिशातर्फ अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
यस सफल भ्रमणले दूरदर्शी नेतृत्व र इमानदार टोली कार्य हुँदा सिक्किम राष्ट्रकै लागि उदाहरणीय बन्न सक्ने कुरा पुनः प्रमाणित गरेको छ।






