काठमाडौँ, २० वैशाख (रासस)
आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी र हिमाली भू–भागमा मौसम बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै बाँकी तराईका एक–दुई स्थानमा पनि यस्तै खालको मौसम गतिविधि देखिन सक्ने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस्तै, लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0