काठमाडौं, जेठ ८ — नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघ को १३औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गरिने संघले जनाएको छ।

“ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं” भन्ने मूल नारासहित महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा भइरहेको छ। उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ले गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन सत्रअघि मगर समुदायको मौलिक संस्कृति, भेषभूषा तथा पहिचान झल्किने सांस्कृतिक ¥याली भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक हुँदै कमलादी पुगेर सभामा परिणत भएको थियो। नेपाल मगर संघ का महासचिव टेक नाम्जाली मगरका अनुसार ¥यालीमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा मगर समुदायका अगुवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

संघका अनुसार देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब ७ सय प्रतिनिधिको सहभागिता महाधिवेशनमा रहनेछ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सीमित नभई संगठनात्मक पुनर्संरचना, आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता तथा समावेशी प्रतिनिधित्वजस्ता विषयमा नीतिगत बहस गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

जेठ १० गतेसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसहित आगामी कार्ययोजना र नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0