मकवानपुर, जेठ १० , २०८३
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई, नेपालको चौथो डिस्ट्रिक्ट क्याबिनेट बैठक हिजो जेष्ठ ९ गते मकवानपुरको थाहा नगरपालिका–९ स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङमा भव्य रूपमा सम्पन्न भएको छ।
“Serve, Lead & Rise” भन्ने मूल नाराका साथ लायन्स वर्ष २०२५–२०२६ का लागि आयोजित उक्त बैठकको होस्ट लायन्स क्लब अफ काठमाडौँ ओमकारले गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी लायन राजन लम्साल रहनुभएको थियो। त्यसैगरी लायन्स वर्ष २०२६/०२७ का इलेक्टेड डिस्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसी, पास्ट डिस्ट्रिक्ट गभर्नरहरू लायन इन्दु लम्साल, लायन मनबहादुर रोक्का, लायन रामबहादुर बसेल तथा लायन चन्द्रकुमार केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रख्यात कथावाचिका देवी सुम्मी मानवको समेत विशेष उपस्थिति रहेको थियो।
डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट सचिव लायन रामबहादुर श्रेष्ठले लायन्स वर्ष २०२५/०२६ मा सम्पन्न विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी डिस्ट्रिक्ट कोषाध्यक्ष लायन महेन्द्रकुमार राठीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै डिस्ट्रिक्टको कुल आम्दानी रु. ४३ लाख ८० हजार ९८९ रुपैयाँ ७१ पैसा तथा कुल खर्च रु. ५४ लाख ३४ हजार ७२० रुपैयाँ ८८ पैसा रहेको जानकारी दिनुभयो।
बैठकमा सेवामूलक तथा धार्मिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी असार ८ गतेदेखि १६ गतेसम्म काठमाडौंको पशुपति क्षेत्रस्थित सुमार्गी भवन अगाडि भव्य श्रीमद्भागवत महापुराण आयोजना गरिने जानकारी समेत गराइएको थियो।
फेलोसिप, लिडरसिप र सामाजिक प्रभावलाई मुख्य प्राथमिकतामा राखिएको उक्त क्याबिनेट बैठकमा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न लायन्स क्लबका प्रतिनिधि तथा लायन लिडरहरूको उत्साहजनक सहभागिता रहेको थियो।







