बद्री पौडेल , १० जेष्ठ २०८३

नेपालको जनसांख्यिक इतिहासलाई हेर्दा पछिल्ला ११० वर्षमा देशको जनसंख्यामा उल्लेखनीय उतारचढाव आएको देखिन्छ। वि.सं. १९६८ मा सुरु भएको पहिलो व्यवस्थित जनगणनादेखि वि.सं. २०७८ को राष्ट्रिय जनगणनासम्म आइपुग्दा नेपालको जनसंख्या ५६ लाखबाट बढेर झन्डै ३ करोड पुगेको छ।

यो अवधिमा नेपालले जनसंख्या घट्ने, स्थिर रहने र तीव्र रूपमा बढ्ने विभिन्न चरणहरू पार गरेको इतिहासले देखाउँछ।

सुरुवाती दशकमा जनसंख्या घट्यो

तथ्याङ्कअनुसार वि.सं. १९६८ मा नेपालको कुल जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियो। तर त्यसपछिका दुई दशकमा जनसंख्या बढ्नुको सट्टा घटेको देखिन्छ।

वि.सं. १९७७ मा जनसंख्या ५५ लाख ७३ हजार ७८८ मा झर्‍यो भने वि.सं. १९८७ मा अझ घटेर ५५ लाख ३२ हजार ५७४ पुगेको थियो।

इतिहासकार तथा जनसांख्यिक विज्ञहरूका अनुसार त्यस समय फैलिएको ‘स्पेनिस फ्लू’ महामारी, प्रथम विश्वयुद्धमा नेपाली युवाको सहभागिता तथा मृत्यु, स्वास्थ्य सेवाको अभाव र उच्च मृत्युदरका कारण जनसंख्यामा कमी आएको थियो।

१९९८ पछि सुरु भयो निरन्तर वृद्धि

वि.सं. १९९८ को जनगणनापछि नेपालको जनसंख्या वृद्धिले सकारात्मक गति लियो। त्यसबेला जनसंख्या ६२ लाख ८३ हजार ६४९ पुगेको थियो।

त्यसपछिका दशकहरूमा जनसंख्या निरन्तर बढ्दै गयोः

  • २००९ – ८२ लाख ५६ हजार ६२५
  • २०१८ – ९४ लाख १२ हजार ९९६
  • २०२८ – १ करोड १५ लाख ५५ हजार ९८३

२०३८ देखि २०५८ : तीव्र जनसंख्या वृद्धिको युग

स्वास्थ्य सेवामा सुधार, शिशु मृत्युदरमा कमी तथा उच्च जन्मदरका कारण वि.सं. २०३८ देखि २०५८ को अवधि नेपालको तीव्र जनसंख्या वृद्धिको समय मानिन्छ।

वि.सं. २०३८ मा १ करोड ५० लाख २२ हजार ८३९ पुगेको जनसंख्या वि.सं. २०४८ मा १ करोड ८४ लाख ९१ हजार ९७ पुगेको थियो।

त्यसपछि वि.सं. २०५८ मा नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४२३ पुगेपछि देशले २ करोडको आँकडा पार गरेको थियो।

पछिल्ला दशकमा वृद्धि दर सुस्त

वि.सं. २०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ पुगेको थियो।

पछिल्लो वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

संख्यात्मक रूपमा जनसंख्या बढे पनि पछिल्ला दशकहरूमा वार्षिक वृद्धि दर भने घट्दो क्रममा रहेको विज्ञहरू बताउँछन्।

शिक्षाको विस्तार, ढिलो विवाह गर्ने प्रवृत्ति, वैदेशिक रोजगारी, शहरीकरण तथा परिवार नियोजनका साधनहरूको बढ्दो प्रयोगका कारण नेपाली समाजमा सानो परिवारको अवधारणा बलियो बन्दै गएको विश्लेषण गरिएको छ।

Source ;- सोमनाथ ढकालको , जनस्वास्थ्यका आधारहरु बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0