धादिङ,  रुबी भ्याली , असार  २ , २०८३

धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबीभ्याली गाउँपालिका–६ अन्तर्गत लापा–खादिङ सडकको निर्माण तथा स्तरोन्नति कार्य हाल जारी रहेको छ। गत आर्थिक वर्षमा करिब २ करोड रुपैयाँको लागतमा सुरु गरिएको उक्त सडक आयोजनाको काम यस आर्थिक वर्षमा २९ लाख रुपैयाँको बजेटबाट थप स्तरोन्नति गरिँदै आएको छ।

सडक निर्माण तथा स्तरोन्नतिको काम अगाडि बढेसँगै स्थानीय बासिन्दाको यातायात पहुँच विस्तार हुँदै गएको छ। सडकले गाउँपालिकाका विकट बस्तीहरूलाई जिल्ला सदरमुकाम धादिङबेँसीसँग जोड्ने महत्वपूर्ण आधार तयार गरिरहेको स्थानीयवासीको भनाइ छ।

हालसम्म भएको कामले आवतजावतमा सहजता ल्याए पनि सडकलाई पूर्ण रूपमा खादिङसम्म पुर्‍याउन अझै पर्याप्त बजेट आवश्यक रहेको रुबीभ्याली गाउँपालिका–६ का वडा सदस्य उमेश गुरुङले बताउनुभयो। उहाँका अनुसार हालको बजेटले सडक विस्तार र स्तरोन्नतिको केही भाग मात्र सम्पन्न गर्न सम्भव भएको छ भने बाँकी खण्डको कामका लागि आगामी वर्षहरूमा थप लगानी आवश्यक पर्नेछ।

सडक निर्माण सम्पन्न भएपछि स्थानीय कृषिजन्य उत्पादनको ढुवानी, स्वास्थ्य तथा शैक्षिक सेवामा पहुँच, साथै पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। रुबीभ्याली क्षेत्रका बासिन्दाले सडक निर्माण कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आवश्यक बजेट व्यवस्थापनको माग समेत गरेका छन्।

स्थानीयवासीका अनुसार लापा–खादिङ सडक दुर्गम बस्तीहरूको विकास, सेवा प्रवाहको सहजता तथा समग्र जीवनस्तर उकास्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ। हाल निर्माण तथा स्तरोन्नतिको काम जारी रहेकाले निर्धारित बजेटअनुसार काम सम्पन्न गर्दै बाँकी खण्डका लागि थप स्रोत सुनिश्चित गर्न पहल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0