सप्तरी, असार २ — अपहरण गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०७२ मंसिर २१ गते सुरुङ्गा नगरपालिका–१० निवासी ऐनुल मियाँलाई आफ्नै घरबाट अपहरण गरी बन्धक बनाइएको थियो। उनलाई बलान खोलाको दक्षिण–पूर्व क्षेत्रमा रहेको पैनीमा लगेर पानीमा डुबाई तथा घाँटी थुनेर हत्या गरिएको आरोप छ।
घटनापछि फरार रहेका प्रतिवादीहरूको खोजतलासका क्रममा सप्तरी सुरुङ्गा नगरपालिका–१० सिसवाटारका ६१ वर्षीय बाउडे मियाँलाई जेठ २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै सिराहा लहान नगरपालिका–११ बस्ने ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई जेठ ३१ गते सप्तरीको बलानबिहुल गाउँपालिका–१ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई विशेष खोजी अभियानका क्रममा पक्राउ गर्न सफल भएको हो। हाल उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।