धादिङ, असार १० , २०८३
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४९ वर्षीय सुरेन्द्र बाँडालाई गाउँपालिका कार्यालयमा अभद्र व्यवहार तथा कार्यालयको नियमित कामकाजमा अवरोध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असार ९ गते बिहान करिब १०ः३० बजे बाँडा गाउँपालिका कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी प्रक्रिया नपुगेको फाइल पेश गर्दै विवाद सिर्जना गरेका थिए। उनले कर्मचारीहरूमाथि गालीगलौज, धम्की तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।
प्रहरीका अनुसार केही समयपछि मादक पदार्थ सेवन गरी पुनः गाउँपालिका कार्यालय पुगेका बाँडाले कार्यालयको ताला र चाबी लिएर लेखा शाखामा काम भइरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत लाई लक्स्थाकलक्षित गरी बाहिरबाट अनधिकृत रूपमा ताला लगाई कार्यालयको नियमित कामकाजमा अवरोध पुर्याएका थिए।
गाउँपालिका कार्यालयको पत्र जाहेरीका आधारमा प्रहरीले सोही दिन बाँडालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले बाँडाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।






