बद्री पौडेल ,धादिङ, असार १० ,२०८३

पछिल्लो समय धादिङ जिल्लामा बढ्दै गएको साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाका तीन विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा मंगलबार नीलकण्ठ नगरपालिका–४ स्थित श्री चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालय, नीलकण्ठ नगरपालिका–१२ स्थित सांकोष माध्यमिक विद्यालय तथा नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय मा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, फेक आइडी, डिजिटल सुरक्षा, व्यक्तिगत सूचना संरक्षण तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको थियो।

उक्त कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षकद्वय श्यामकुमार बस्नेत र विक्रम रिजालले गर्नुभएको थियो। कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, त्यसबाट हुने जोखिम तथा कानुनी व्यवस्थाका विषयमा समेत जानकारी दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गइरहेका कारण विद्यार्थी तथा युवापुस्तालाई सचेत गराई सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरीले सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन, अपरिचित व्यक्तिसँग व्यक्तिगत विवरण साझा नगर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा साइबर सुरक्षाप्रति जागरूकता अभिवृद्धि हुनुका साथै साइबर अपराध न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0