बद्री पौडेल ,धादिङ, असार १० , २०८३
गल्छी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदाय लक्षित हाइड्रोलिक मेसिनद्वारा दुना–टपरी उत्पादन सम्बन्धी दुई दिने सीपमूलक तालिम शुरु भएको छ।
गल्छी गाउँपालिका–६ महेशदोभानस्थित आत्मनिर्भर महिला समूह का २१ जना महिलालाई तालिम प्रदान गरिएको हो ,तालिममार्फत सहभागी महिलाहरूलाई दुना–टपरी उत्पादन, मेसिन सञ्चालन तथा व्यवसायिक व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाको ८५ प्रतिशत र समूहको १५ प्रतिशत लागत साझेदारी मा हाइड्रोलिक दुना–टपरी उत्पादन मेसिन उपलब्ध गराइएको हो। तालिमको समापन अवसरमा उक्त मेसिन आत्मनिर्भर महिला समूहलाई हस्तान्तरण गरिएको जनस्वास्थ्य निरीक्षक शिव प्रसाद पौडेलले जानकारी दिनुभयो।
पौडेलका अनुसार स्थानीय स्रोत र सीपको उपयोग गर्दै महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। मेसिन हस्तान्तरणपछि समूहले व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गरी आयआर्जन बढाउन सक्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको आर्थिक सशक्तीकरण, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
तालिममा सहभागी महिलाहरूले प्राप्त सीप र मेसिनको सदुपयोग गर्दै सामूहिक उद्यममार्फत आयआर्जन वृद्धि गर्ने र स्थानीय स्तरमै वातावरणमैत्री दुना–टपरी उत्पादनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






