धादिङ, असार ३२ ,२०८३
धादिङ जिल्लामा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म स्क्रब टाइफसका संक्रमितको संख्या ४२४ पुगेको छ। जनस्वास्थ्य कार्यालय धादिङका प्नप्रमुख अर्जुन पौडेलका अनुसार मिति २०८३ असार ३२ गतेसम्म जिल्लाभर परीक्षण गरिएका व्यक्तिमध्ये ४२४ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो।
कार्यालयले पछिल्लो समय ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक थकान तथा अन्य लक्षण देखिएका बिरामीहरूको परीक्षण गर्दा संक्रमण पुष्टि भएको जनाएको छ। मनसुन सुरु भएसँगै झाडी तथा घाँसे क्षेत्रमा काम गर्ने, खेतबारीमा लामो समय बिताउने तथा मुसा र किराको सम्पर्कमा आउने व्यक्तिहरूमा संक्रमणको जोखिम बढी रहने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
जनस्वास्थ्य कार्यालय धादिङले नागरिकलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, झाडी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन, शरीरमा असामान्य ज्वरो वा अन्य लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गरेको छ।
स्वास्थ्य कार्यालयले स्क्रब टाइफसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। समयमै परीक्षण र उपचार गराएमा स्क्रब टाइफस निको हुने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।






