धादिङ, असार ३२ ,२०८३
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जिल्ला प्रहरी कार्यालय धादिङको औपचारिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई नागरिकमैत्री, अनुशासित र व्यावसायिक ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो। उहाँले कानूनको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा पारदर्शिता तथा जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरूको कार्यसम्पादन, सेवा प्रवाहको अवस्था तथा अभिलेख व्यवस्थापनको समेत अवलोकन गर्नुभएको थियो। निरीक्षणका क्रममा शाखाहरूबाट भइरहेका गतिविधि, उपलब्धि तथा चुनौतीबारे जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझाव दिनुभएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले यस्ता निरीक्षण तथा निर्देशनात्मक कार्यक्रमले प्रहरी संगठनको कार्यसम्पादन सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा नागरिकप्रति उत्तरदायी प्रहरी प्रशासन निर्माणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।







