धादिङ, असार ३२ ,२०८३
धादिङको सिद्धलेक गाउँपालिकाले ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा आगामी साउन १ गतेदेखि निरन्तरता नदिने निर्णय गरेको छ।
गाउँपालिकाले असार ३२ गते प्रमुख प्रशासकीय अधिकृत अधिकला आचार्यद्वारा जारी गरिएको पत्रमार्फत ज्यालादारी तथा करार सेवामा कार्यरत सबै कर्मचारीलाई उक्त जानकारी गराएको हो।
पत्रमा बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ को उपदफा (४) बमोजिम स्थानीय सेवाका पदमा ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै सोही ऐनको दफा १६ को उपदफा (२) र उपदफा (१) विपरीत गरिएका नियुक्तिहरू कानूनसम्मत नभएको जनाइएको छ।
गाउँपालिकाले हाल कार्यरत ज्यालादारी तथा करार कर्मचारीको सेवा २०८३ साउन १ गतेदेखि स्वतः समाप्त हुने भन्दै त्यसपछिको अवधिमा उनीहरूबाट कुनै पनि प्रकारको कार्य सम्पादन नगराउन सम्बन्धित शाखा प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई निर्देशन दिएको छ।
सूचनामा कर्मचारीबाट सेवा लिइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख, शाखा प्रमुख वा जिम्मेवार पदाधिकारी स्वयंले वहन गर्नुपर्ने उल्लेख छ। साथै सेवा समाप्त भएपछि त्यस्ता कर्मचारीलाई तलब, भत्ता वा अन्य सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारिएको छ।
गाउँपालिकाले यस विषयमा कुनै अन्य निकायबाट फरक किसिमको दबाब वा निर्देशन आए पनि प्रचलित कानुनअनुसार मात्रै कार्य गरिने जनाएको छ।
यस निर्णयसँगै सिद्धलेक गाउँपालिकामा लामो समयदेखि ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको भविष्य अन्योलमा परेको छ भने स्थानीय तहमा कर्मचारी व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ।






