बद्री पौडेल ,धादिङ , १ गते साउन २०८३
आज साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति देशभर परम्परागत रूपमा मनाइँदै छ। नेपाली संस्कृतिमा यो दिनलाई वर्षायामको मध्यभाग तथा हिउँद ऋतुको सुरुआतको प्रतीकका रूपमा लिने प्रचलन रहेको छ। पुरोहितहरूले पनि आजदेखि हिउँद लाग्यो भन्ने घोषणा गर्ने परम्परा रहिआएको छ।
ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ विशेष पूजा गरी “लुतो लैजा, अनिकाल लैजा, सहकाल ल्याइदे, खराब लैजा, असल ल्याइदे” भन्दै गाउँको वारिपारि आवाज लगाउने चलन अझै जीवित छ। यसरी रोग, व्याधि, अनिकाल र अशुभ शक्तिलाई गाउँबाहिर पठाई सुख, शान्ति, समृद्धि र सहकाल भित्र्याउने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ।
पूजाका क्रममा कागभलायो, कुकुरडाइनो, पानीअमला, सिरु, पाती, मकैको बोट, खनियो, अमिलो, नास्पाती , कुरिलो, आरु लगायतका स्थानीय वनस्पति, फलफूल तथा जडीबुटी चढाइन्छ। यी वनस्पतिमा औषधीय गुण हुने विश्वास गरिन्छ, जसले रोगव्याधिबाट बचाउने जनविश्वास रहिआएको छ।
पूजा सम्पन्न भएपछि थाल, नाङ्लो वा अन्य धातुका भाँडा बजाउँदै आगोको अगुल्टो चारै दिशातर्फ फ्याँक्ने चलन पनि रहेको छ। यसले गाउँबाट रोग, लुतो, अशुभ शक्ति र नकारात्मक ऊर्जा हट्ने विश्वास गरिन्छ। कतिपय स्थानमा परिवारका सबै सदस्य सहभागी भई सामूहिक रूपमा यो संस्कार सम्पन्न गर्ने गरिन्छ। धादिङको उतरी भागमा अझै पनि धुमधाम सँग मनाईन्छ ,तर कतिपय ठाउँमा यो लोप हुदै पनि गएको छ ।
कृषि जीवनसँग पनि साउने सङ्क्रान्तिको गहिरो सम्बन्ध छ। असारभरि धान रोपाइँ र अन्य खेतीपातीका मुख्य काम सम्पन्न भएपछि किसानले केही राहतको अनुभूति गर्ने समयका रूपमा पनि यो दिनलाई लिइन्छ।
धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्तिलाई वर्षा ऋतुको प्रारम्भ र साउने सङ्क्रान्तिलाई हिउँद ऋतुको प्रारम्भ मान्ने परम्परा रहेको छ। यद्यपि आधुनिक मौसम विज्ञानले ऋतु विभाजन फरक ढङ्गले व्याख्या गरे पनि नेपाली समाजमा यी सङ्क्रान्तिहरू सांस्कृतिक र धार्मिक दृष्टिले विशेष महत्व राख्छन्।
समयसँगै केही परम्परा हराउँदै गए पनि साउने सङ्क्रान्तिले प्रकृतिप्रतिको सम्मान, सामूहिक एकता, स्वास्थ्य संरक्षण र कृषि संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण सन्देश बोकेको पर्वका रूपमा आज पनि नेपाली समाजमा श्रद्धापूर्वक मनाइँदै आएको छ।






