बद्री पौडेल ,धादिङ ,३१ असार २०८३

तीन दशकभन्दा बढी समय राष्ट्रसेवामा समर्पित रहनुभएका कर्मचारी राममणि मिश्र ३७ वर्षे सरकारी सेवा पूरा गरी सेवा निवृत्त हुनुभएको छ। उहाँलाई जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार एक कार्यक्रमबीच सम्मानपूर्वक बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेले मिश्रको दीर्घ सरकारी सेवाको उच्च मूल्यांकन गर्दै सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो। उहाँले सेवा अवधिभर मिश्रले देखाएको इमानदारी, अनुशासन, कर्तव्यनिष्ठा र जिम्मेवारीपूर्ण कार्यसम्पादन प्रशंसनीय रहेको उल्लेख गर्दै अवकाशपछिको जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिनुभएका मिश्रले सरकारी सेवाको प्रारम्भिक चरणमा सहकारी कार्यालय, स्थानीय तह तथा वन कार्यालयमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो। त्यसपछि लामो समय गृह मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयमा रही राष्ट्रसेवामा योगदान पुर्‍याउनुभएको हो।

सेवाकालका क्रममा उहाँले धादिङ, लमजुङ, गोरखा, कास्की लगायतका जिल्लामा कार्य गर्नुभएको थियो भने केही समय चापागाउँमा पनि जिम्मेवारी सम्हाल्नुभएको थियो। विभिन्न जिल्लामा रहँदा उहाँले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सेवाग्राहीमैत्री कार्यशैली अपनाएको सहकर्मीहरूले स्मरण गरेका छन्।

बिदाइ कार्यक्रममा उपस्थित कर्मचारीहरूले मिश्रलाई कुशल प्रशासक मात्र नभई सहकर्मीहरूका लागि अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोतका रूपमा चित्रण गरे। उहाँले कार्यालयमा सधैं आत्मीय व्यवहार, माया, हौसला र सही मार्गदर्शन प्रदान गर्दै सकारात्मक कार्यसंस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा सहकर्मीहरूले मिश्रसँग बिताएका अविस्मरणीय कार्यअनुभवहरू स्मरण गर्दै उहाँको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए। सम्मान र शुभकामनासहित बिदाइ गरिएका मिश्रको दीर्घ अनुभव र सेवाभावलाई सबैले सधैं सम्झिरहने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0