धादिङ,३ साउन २०८३

संघीयता कार्यान्वयनपछि विकास निर्माणका काममा स्थानीयको श्रमदान गर्ने परम्परा क्रमशः हराउँदै गएको गुनासो भइरहेका बेला धादिङको नीलकण्ठ नगरपालिका–८ मा भने श्रमदानको प्रेरणादायी उदाहरण प्रस्तुत गरिएको छ।

नीलकण्ठ नगरपालिका–८ अन्तर्गत साँघुटारबाट कुमाल गाउँ हुँदै रामकोट हटिया जाने पैदलमार्गमा स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूको सक्रिय सहभागितामा कुनै योजना वा बजेटबिना नै श्रमदान अभियान सञ्चालन गरिएको हो।

वडा सदस्य छबीप्रसाद काप्रीको नेतृत्वमा स्थानीयहरू दुई वर्षअघि पहिरोले पुरिएका  सिँढीहरू उत्खनन गर्दै पुनः प्रयोगमा ल्याउने, बाटो सफा गर्ने तथा आवतजावत सहज बनाउने कार्यमा जुटेका छन्।

स्थानीयका अनुसार धेरैजसो विकास योजनामा कागजमा श्रमदानको प्रतिशत उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो सहभागिता कमै देखिन्छ। तर यस अभियानले समुदायको एकता, जनसहभागिता र श्रमदानको संस्कार अझै जीवित रहेको सन्देश दिएको छ।

स्थानीयवासीहरूले सार्वजनिक बाटो संरक्षण र मर्मतका लागि सरकारी बजेटको मात्र प्रतीक्षा नगरी समुदाय आफैं अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन्। यस प्रकारका अभियानले स्थानीयस्तरमा सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

स्थानीयहरूले यस्ता श्रमदान अभियानलाई निरन्तरता दिँदै अन्य सार्वजनिक संरचनाको संरक्षण र व्यवस्थापनमा समेत समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0