सर्लाही ,२६ असार २०८३
सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
गम्भीर अवस्थामा रहेका मण्डलको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले तत्कालै प्रधानमन्त्री, गृहमन्त्री तथा पार्टी सभापतिसँग समन्वय गर्दै आवश्यक पहल गरेका थिए।
सांसद सिंहको आग्रहपछि प्रधानमन्त्रीको निर्देशनमा तत्काल हेलिकप्टर परिचालन गरी मण्डललाई काठमाडौं ल्याइएको हो। सरकारको निर्णयअनुसार मण्डलको सम्पूर्ण उपचार निःशुल्क रूपमा गरिने व्यवस्था समेत मिलाइएको बताइएको छ।
संकटको घडीमा उद्धार तथा उपचारका लागि सरकारबाट तत्काल पहल भएको भन्दै सांसद सिंहले प्रधानमन्त्री, गृहमन्त्री तथा पार्टी सभापतिप्रति धन्यवाद व्यक्त गरेका छन्।
हाल मण्डलको काठमाडौंस्थित अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था भने गम्भीर रहेको जनाइएको छ।






