जनकपुरधाम, साउन १५ — धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिरभित्र करिब ४० वर्षीय पुरुषको विभत्स अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतकको औपचारिक पहिचान खुल्न बाँकी रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा रगतका छिटा मन्दिर परिसरभरि फैलिएको अवस्थामा फेला परेको छ। स्थानीयवासीका अनुसार मृतक लामो समयदेखि सोही मन्दिरमा बस्दै आएका थिए र सहायक पुजारीका रूपमा सेवा गर्दै आएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा घटनाको अनुसन्धान अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सुनसरीमा भएको हिंसात्मक घटनापछि धनुषासहित मधेश प्रदेशका केही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिरहेकै बेला मन्दिरभित्र शव फेला परेपछि स्थानीयमा थप त्रास फैलिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ। घटनाको वास्तविक कारण र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ।






