कृष्ण बद्री पौडेल ,धादिङ  ,२० साउन ,२०८३

घरको पुरानो दराज सफा गर्दै जाँदा भेटियो एउटा पुरानो रिलवाला याशिका (Yashica) क्यामरा, एक समय थियो, यही क्यामरा आधुनिक प्रविधिको प्रतीक मानिन्थ्यो ,फोटो खिच्ने रहर हुनेहरूका लागि यो ठूलो सपना थियो। आज भने स्मार्टफोनको तीव्र विकाससँगै यस्ता क्यामरा इतिहासका पानामा सीमित हुँदै गएका छन्।

नेपालमा विशेषगरी वि.सं. २०६२/०६३ सालसम्म यस्ता रिलवाला क्यामराको प्रयोग व्यापक थियो। त्यसपछि स्मार्ट मोबाइल फोन र डिजिटल क्यामराको आगमनसँगै रिल हालेर फोटो खिच्ने संस्कृति बिस्तारै हराउँदै गयो। अहिले क्यामराहरु केही पत्रकार र शौखिन मानिस सङ मात्र भेटिन्छ ।

पुरानो पुस्तालाई अझै सम्झना छ—एक समय विदेश, विशेषगरी ब्रिटिस र भारतीय सेनामा कार्यरत नेपालीहरू घर फर्कँदा गाउँभरि खुसी छाउँथ्यो। उनीहरूलाई सबैले “लाहुरे” भनेर चिन्थे। इतिहासमा “लाहुरे” शब्दको सुरुआत लाहोरसम्म पुगेर सैनिक सेवा गर्ने  वा अन्य काम गरेर घरमा फर्कने  नेपाली लाई र  पछि भारतीय र ब्रिटिस सेनामा कार्यरत नेपालीहरूलाई पनि यही नामले चिनिन थालियो।

ती लाहुरेहरू विदेशबाट फर्कँदा टेपरेकर्डर, रेडियो, घडी र यस्तै याशिका जस्ता क्यामरा ल्याउँथे। गाउँका विवाह, ब्रतबन्ध, मेलापात, पारिवारिक जमघट र सम्झनाका हरेक क्षण उनीहरूले यही क्यामराले कैद गर्थे।

त्यतिबेला फोटो खिच्नु अहिले जस्तो सहज थिएन। एउटा रिलमा ३६ वा ३७ वटा फोटो मात्र खिच्न मिल्थ्यो। त्यसैले हरेक क्लिक सोचेर मात्र गरिन्थ्यो। फोटो तुरुन्त हेर्न सकिने सुविधा थिएन। रिल सकिएपछि मात्र स्टुडियोमा डेभलप गरेर फोटो हात पर्थ्यो।

कतिपय ठाउँमा रमाइला घटना पनि हुन्थे। केही व्यक्तिले रिल सकिएको भन्दै केवल फ्ल्यास मात्र बालेर फोटो खिचेझैँ गरिदिने गरेका किस्सा पनि गाउँघरमा सुनिन्थ्यो। सबैलाई रिलको अवस्था थाहा नहुने भएकाले त्यस्ता घटनाले पछि मात्रै हाँसोको विषय बन्थे।

आज अवस्था पूर्ण रूपमा फेरिएको छ। स्मार्टफोन, विशेषगरी उच्चस्तरीय क्यामरा भएका आईफोन लगायतका मोबाइलले फोटोग्राफीलाई सबैको पहुँचमा पुर्‍याइदिएका छन्। हजारौं तस्बिर खिच्न सकिन्छ, तुरुन्त हेर्न सकिन्छ, सम्पादन गर्न सकिन्छ र विश्वभर केही सेकेन्डमै पठाउन सकिन्छ।

यसैबीच, पुरानो पुस्ताको एउटा सम्झना पनि फेरि ताजा भएको छ। वि.सं. २०५२ सालतिर विदेशबाट ल्याइएको यही याशिका क्यामरा अहिले घरको दराजमा भेटिएपछि धेरै पुराना यादहरू एकाएक आँखाअगाडि आएका छन्। आजका २०–२१ वर्षका युवायुवतीका लागि यो क्यामरा नयाँ र अनौठो वस्तु जस्तो लाग्न सक्छ, तर एक समय यही उपकरणले  नेपाली परिवारका अमूल्य सम्झनाहरू सुरक्षित गरेको थियो।

प्रविधि परिवर्तन हुनु स्वाभाविक हो। तर पुराना उपकरणहरू केवल सामान होइनन्, तिनले एउटा पुस्ताको जीवनशैली, समय र सम्झनाहरू बोकेका हुन्छन्। त्यसैले यस्ता क्यामराहरू अब केवल फोटो खिच्ने साधन मात्र होइनन्, हाम्रो सामाजिक इतिहासका मौन साक्षी पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0