उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल १६ हजार २५० रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार दिउँसो कार्यालय परिसरमै निगरानी गर्ने क्रममा पौडेललाई नियन्त्रणमा लिएको हो।
पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गरिदिने भन्दै रकम मागेको र सोही क्रममा रकम लिएको आरोप रहेको अख्तियारले जनाएको छ।
पक्राउपछि अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। पौडेलमाथि लागेको आरोपको कानुनी पुष्टि भने अनुसन्धान तथा त्यसपछिको न्यायिक प्रक्रियाबाट हुने अख्तियारले जनाएको छ।
पौडेलको उदयपुरमा करिब १४ महिनाअघि पहिलो पदस्थापन भएको बताइएको छ।






