गजुरी ,धादिङ,२०८३ भाद्र ३१
शितल छहारी नेपालले धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्प क्षेत्रका बाढी तथा विपद् प्रभावित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।
गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको समन्वयमा , सुनिल तामाङ को पहलमा बिहानी पम्प क्षेत्रका प्रभावित परिवारलाई सहयोगको माग आएपछि संस्थाले आवश्यक सामग्री उपलब्ध गराएको हो। राहतस्वरूप पानीका जार, डिस्पेन्सर, बाटा, चपिङ बोर्ड, भान्सामा प्रयोग हुने सामग्री, ब्रससहितका सरसफाइ सामग्री, बोतललगायत दैनिक प्रयोगका सामग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष विक्रम पौडेलले जानकारी दिनुभयो।
राहत सामग्री शितल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेल, उपाध्यक्ष विक्रम पौडेल र लायन्स क्लबका रिजन चेयरपर्सन कृष्ण शिशिर ढकालले संयुक्त रूपमा वितरण गर्नुभएको थियो।
गत १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै शितल छहारी नेपालले राहत अभियान सञ्चालन गर्दै आएको छ। यसअघि संस्थाले नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे–अक्करे तथा धादिङको गजुरी गाउँपालिका–५, गलौदी क्षेत्रका बाढी प्रभावित परिवारलाई समेत राहत सामग्री उपलब्ध गराएको थियो।
बाढीका कारण घरायसी सामग्रीमा क्षति पुगेका तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको संस्थाले जनाएको छ। बिहानी पम्पका १४ घरपरिवारलाई गरिएको सहयोगले उनीहरूको घरायसी काम तथा सरसफाइमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।






