धादिङ :- उत्तरी धादिङ जाेड्ने किन्ताङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ । चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल निर्माण गरी संचालनमा आएको छ ।

उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा आइतबारबाट औपचारिक रुपमा सवारी ओहोर दोहोर गराउन सुरु गरिएको छ । उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पु¥याउने पुलको आइतबार संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती महारथी प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

खनियाबास गाउँपालिका–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको पुल ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न पुल ३० टन क्षमताको छ ।

वर्षाको समयमा पानी बढेपछि यातायात बन्  हुने भएकाेले उत्तरी धादिङका जनता सदरमुकाम जान समेत असम्भव हुने गर्दथ्याे । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उत्तरका नागरिक अब त्यो बाध्यताबाट मुक्त भएकोले उत्तरी धादिङलाई जोड्न अझै दुई ओटा पुल बनाउन आग्रह गरिएको संघीय साम्सद रामनाथ अधिकारीले बताए ।

कुल एक करोड १० लाख लागत रहेको छ । पुल निर्माणकोे खर्च सुरुमा खनियाबास गाउँ पालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेसी जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने तामाङले बताए ।

ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् । ‘हामी अर्कै देशका नागरिक जस्तो भएर बस्नु परेको थियो अब पुल बन्यो हामीलाई त घरकै ढोका खुलेको जस्तै अनुभव भइरहेको छ’, खनियाबास गाउँपालिकाका प्रकाश तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0