अधिवक्ता – कृष्णराज अधिकारी ।

“हैन जुनुलाई  कलाकार भन्दा विज्ञान विषय पढाएर  मेडिकल डाक्टर पो बनाउन पर्छ कि भन्ने सोच बदलियो । छात्रवृत्ति कोटा परेन भने त यम.वि.वि.यस.गर्न पनि ६०,७० लाख लाग्छ भन्छन् । त्यत्रो रुपैयाँ कसरी जुटाउने ? त्यति ले मात्र कहाँ पुग्छ र ? विशेषज्ञताका लागि यम.डी पनि गराउनै पर्‍यो ।” 

धेरै दिन देखि केही कुरा लेखूँ जस्तो लागि रहेको छ । मनमा भने केही फुर्दैन । के को बारेमा लेख्ने होला ? मनमा छटपटी चल्छ । यता फर्किन्छु , उता फर्किन्छु , केही आउँदैन । दौडियो , उफ्रियो , करायो बिचार भने ठन्डाराम ! कहिले घण्टौँ सम्म मौन बस्छु तर मनमा केही बिचार पलाउँदैन । के मेरो बिचार र लेखन अभ्यासमा खडेरी परेकै हो त ? आफूले आफ्नै गाला चिमोट्छु , टाउको सुमसुम्याउछु , सबै ठिकै छ जस्तो लाग्छ तै पनि म हिजो आज किन चिन्तन बिचार शून्य भइरहेको छु,आफ्नै लागि खोजीको विषय भइरहेको छ ।

हाम्रा केही साहित्यकार अग्रजहरू आफूलाई अब्बल देखाउन नेपाली शब्दकोश अगाडि राखेर कहिल्यै जनजिब्रोले नबोलिएका भाषा याने: शब्दहरू प्रयोग गर्ने गर्दछन् । उनीहरूको अर्को विशेषता भनेको आफ्नो लेख रचना बाहेक प्राय अरूहरूको लेख पढ्ने गर्दैनन् । यी महान् साहित्यकारहरूले हामी जस्ता बामे सर्दै गरेका लेखकको लेख किन पढ्ने ? न त शब्दमा ओझ छ न मिठास नै । अर्का खाले साहित्यकारहरू जो आफू लेख्छन् बिचार पस्किन्छन् तर अरूहरूको लेख बिचारमा त्यति धेरै क्रिया प्रतिक्रिया दिई रहन आवश्यकता देख्दैनन् । अनि अहिलेका युवा पिँढी भने लेख रचना पढ्नु लेख्नु भन्दा पनि सामाजिक सञ्जालमा घण्टौँसम्म रमाउनमै व्यस्त ।

आज जसरी पनि एउटा लेख लेख्छु लेख्छु भन्ने अठोटका साथ कापी कलम लिई पलेटी कसेर बसेको छु । लेख चाहिँ के को बारेमा लेख्ने होला ? मैले नजन्माएको छोरीलाइ कलाकार बनाएर त्यसैको बारेमा लेखुंकि जस्तो लाग्यो । मेरी काल्पनिक छोरी “जुनु” लाई कलाकार बनाउने कुरा सोच्न थालेँ । मैले मेरो छोरीलाई कुनै कुराको अभाव हुन दिने कुरै भएन । संसारकै राम्री रुपमति बुद्ध मति मेरी छोरी “जुनु” हुनु पर्छ जो निडर र स्वाभिमानी पनि होउन्  भन्ने रहर जाग्यो । सहर बजारमा हिँड्दा पनि आहा कति सुन्दरी ! कसको छोरी होला भन्ने चर्चा चलोस् न भन्ने लाग्छ । बरु छोरीलाई के पो बनाउने ? गीतकार बनाऊँ कि नृत्यकार या हिरोइन बनाऊ कि कमेडियन ? फेरी लाग्छ गायिका बनाऊ भने समीक्षाले जस्तै दुख पाउने पो हो कि ? हिरोइन बनाऊ भने चाडै नै घरबार बिग्रिने पो हो कि ? मेरो मन अनेक शङ्का उपशङ्कामा बहकिन थाल्यो । त्यसैले अब मैले छोरी जुनुलाइ कलाकारिता पनि नपढाउने र कलाकार पनि नबनाउने निधो गरेँ ।

हैन जुनुलाई  कलाकार भन्दा विज्ञान विषय पढाएर  मेडिकल डाक्टर पो बनाउन पर्छ कि भन्ने सोच बदलियो । छात्रवृत्ति कोटा परेन भने त यम.वि.वि.यस.गर्न पनि ६०,७० लाख लाग्छ भन्छन् । त्यत्रो रुपैयाँ कसरी जुटाउने ? त्यति ले मात्र कहाँ पुग्छ र ? विशेषज्ञताका लागि यम.डी पनि गराउनै पर्‍यो । त्यसको लागि अर्को ६०,७० लाख ठिक पार्नु पर्‍यो । सम्झँदा नि अत्यास लाग्ने , गाह्रो पो छ हो । आ जे होला होला छोरी मेरी सर्वस्व हुन् । किन नपढाउने ? घर बारी बैङ्कमा धितो राखेर भए पनि डाक्टर पढाउनु पर्ला भन्ने लाग्यो । किनकि स्वास्थ्य कर्मी डाक्टर भनेका ज्यूदाँ भगवान् हुन् । बिरामीलाई मृत्युको मुख बाट जोगाउने , शरीर बिसन्चो हुँदा औषधि मुलो गर्ने सेवक पनि हुन् ।

मेरी छोरी भैनन् त साक्षात् देवी ? फेरी मनमनै बिचार गरेँ- के छ त डाक्टर पढ्नेहरूको अवस्था ? छिमेकी रामवीर को छोरीलाई हेरेँ । उनीले पनि डाक्टर नै पढेकी हुन् क्यार ! रामवीर दाइलाई डाक्टरको कस्तो अनुभव भई रहेको छ त भनी सोधेँ । ” नानीले सहरको प्राइभेट अस्पतालमा काम गर्छिन् । हप्तामा कम्तीमा ३ दिन त दिनरात बिरामीको हेरविचारमा खटिनु पर्छ । शरीरलाई सास्ती । खाने र सुत्नेको पनि कुनै ठेगान हुँदैन । न त सार्वजनिक बिदामा फुर्सद हुन्छ न त परिवारसँग बसेर नै सँगै चाडबाड मनाउन पाइएको नै छ ।

कहिले काहीँ घर आउँछिन् घर संस्कारको बारेमा उमेर पुगेकी छोरीलाई केही भनूँ त भन्यो उल्टै झर्को फर्को गर्ने । हामी कता जान्छौ , कोसँग हिँड्छौ बस्छौ त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो खोजीनिती नगरेकै राम्रो । समाजले के के भन्छन् भन्दा पनि हामीलाई हेरेर समाज चल्नु पर्छ । हामी त्यसै पढाइ लेखाइमा अब्बल भएका हैनौ नि ! मन मिल्दाको अवस्था सम्म जे पनि हुन सक्छ मन नमिले कट्टा हानिन्छ भन्छिन् । मेडिकल विज्ञान पढेकाहरू साह्रै एकोहोरा र जिद्दी स्वभावका हुने , मेरो मात्र हो कि अरूहरू पनि त्यस्तै हुने हो ? यम.बि.बि यस. गरेर मात्र नपुग्ने रे के हो यम्.डी. अनि विषय विज्ञ बन्नु पर्ने , पढ्दा पढ्दै बुढा बुढी हुने अनि कहिले कमाउने , कहिले रमाउने ? मैले पढाएर दुख पो बेसाइ कि जस्तो लाग्छ ।” उनी एकोहोरो आफ्नो कुरा मसँग राख्दै थिए । हैट सम्पत्तिको सत्यानाश गरेर यस्तो दुख पनि कसैले बेसाउँछ । मेरो सोचाइ पुन बदलियो ।

बरु पल्ला गाउँका माइला दाइ कि छोरी बैङ्कमा जागिर खान्छिन् क्यार ! चिटिक्क परेको शरीरमा ड्रेसको सर्ट पाइन्ट अनि गलामा टाई झुन्ड्याउँदा त कम्ती कि राम्री देखिन्छिन् र ? दिन दिनै लाखौँ रुपैयाँको कारोबार हिसाब किताब गर्न पाउनु ती कम्तीका भाग्यमानी होलान् त ? यसैलाई भनिन्छ लक्ष्मीको मूल परेको । घर भित्रै बसेर काम गर्न पाइने सुखी पेशा । अब छोरीलाई बि बि एस पढाएर बैंकको कर्मचारी बनाउने अठोट गरेँ । त्यसो भए बैङ्कका कर्मचारी याने बैंकर्सहरुको अवस्था पनि त बुझ्नै पर्‍यो नि ।

कसलाइ सोध्ने होला म दिमाग डुलाउँदै थिए यतिकैमा याद आयो कि पल्ला गाउँकी माइला दाइकी छोरी मनु । माइला दाइ कि छोरी मनुले पनि बैङ्कमा जागिर खान्छिन् रे भन्ने सुनेको थिए । म उनै नानीलाई भेट्न गए र भेटे पनि  । ” नानी तपाइ त दिन दिनै लाखौँ करोडको कारोबार गर्ने मान्छे  पैसा पनि मनग्यै होला । फेरी घर भित्रै टेबलको काम गर्न पाइने , आन्ददको जागिर हगि । मेरी छोरीलाई पनि बैंककै जागिर खुवाउनु पर्‍यो भन्या के हुन्छ ? मैले सोधे । ” आफ्नै आङ कन्याएर छारो के उडाउनु बुबा , अरूले देख्दा राम्रो होला तर दिनभर रुपैयाँ गन्यो बस्यो भरे खाजा खाने बेलामा गोजीमा सुक्का पैसा हुँदैन । अफिस जान भनी बिहान ८ बजे  देखि तयारी भयो ९;३० मा जसरी पनि हाजिर हुन पर्ने ।

कहिले भल्ट खोल्ने भन्यो कहिले रुजु गर्ने भन्यो , दिनभरको ग्रहकहरुसंगको तनाव उस्तै साँझ ८ बजेसम्म पनि काउन्टर बन्द गरी काम नै गर्नु पर्ने । हाम्रो त सरकारी बैङ्क पनि हैन आकस्मिक सार्वजनिक बिदा मा हाम्रो बैङ्क कहिल्यै बिदा हुँदैन शनिवार एक दिन मात्र हो । तै पनि काम पर्‍यो भने शनिवार पनि भन्न पाइन्न । पुस माघ मा त कहिल्यै घाम को अनुहार देखिँदैन , यस्तो घाम नदेख्ने जागिर । मास्टर्सको फारम भरेको कहिले परीक्षा भएछ थाहा सम्म पाइन । खै मरी मरी काम गर्‍यो कसलाई पो धनी बनाउन पर्ने हो ? सेवाग्राहीको अनुपातमा कहिल्यै स्टाफ पनि पुरा नहुने । रिजल्ट भने अब्बल चाहिने रे ! सधैँ अभाव नै अभाव । परिवारसँग डुल्ने फिर्ने कुरा त आसे खेती मात्र ।आफू त जागिर देखि वाक्क छु तपाईँलाई कस्तो छ भन्नु ।” उनीले मलिन अनुहार लगाउँदै भनिन् ।

म डायरी अगाडि राखेर यस्तै गन्थन मन्थन सोच्दै थिए त्यसै बेला घर बाहिर आँगनमा एक जना साधु ले अलक भिक्षा भन्दै डमरु बजाउँदै  चिच्याए । म झसङ्ग भएँ । मेरो चिन्तन मनन सबै हरायो । हत्तेरीका मैले पनि के के सोचेको होला  भन्ने लाग्यो । आखिर नदुखेको टाउको किन दुखाउनु । मलाइ कसैको छोरी डाक्टर भएको के ? वैद्य भए पो के ? अनि कलाकार बनुन् कि वकिल साप ! आफूसँग नभएको चिजको किन चिन्ता गर्नु ? आ छोड्दे चिन्ता गरी गरी किन लेख्ने ? के को बारेमा लेख्ने ? मैले कलम बन्द गरेँ । आज पनि लेख्ने राम्रो विषय नै पाइन प्रभु !

(लेखक:- त्रिकोण खबर डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0