काठमाडौँ, चैत २१ – महोत्तरी जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरका कर्मचारी र एक कानून व्यवसायी घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयबाट खटिएको टोलीले खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोलाई सेवाग्राहीसँग ३५,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनीहरुले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्ने र त्यसपछि लालपूर्जा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा कार्यालयमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरी समेतको संलग्नता देखिएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्दा दिपेन्द्र नारायण चौधरी, मुन्नु कुमार दास र जिवछ महतो तीनै जनाको आपसी मिलोमतोमा सो घुस रकम लिएको पुष्टि भएको आयोगले स्पष्ट पारेको छ।
यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरूको प्रावधानअनुसार मुद्दा दायर गरेको छ। दिपेन्द्र नारायण चौधरी र मुन्नु कुमार दासलाई ऐनको दफा ३(१)(क) र (ख) बमोजिम कैद र बिगो बराबरको जरिवाना सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरिएको छ।
त्यस्तै, लेखापढी कानून व्यवसायी जिवछ महतोविरुद्ध पनि ऐनको दफा ३(२) अनुसार मुद्दा दायर गरिएको छ। उनलाई पनि कैद र ३५,००० रुपैयाँ बिगो बराबर जरिवाना सजाय हुनुपर्ने माग दाबी गरिएको छ।
अख्तियारले यस्तो कार्य गैरकानुनी भएको भन्दै सबै सेवाग्राहीलाई यस्ता गतिविधिबाट सतर्क रहन आग्रह गरेको छ। साथै, यस्ता भ्रष्टाचारी क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।






