धादिङ, असार ५ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति धादिङले आजबाट देशभर एकैसाथ भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ। धादिङमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटब्युरो इन्चार्ज भिम चापागाईं रहेका थिए भने कार्यक्रमको अध्यक्षता धादिङ इन्चार्ज अमृत अधिकारीले गरे।
कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, अन्य पत्रकारहरू तथा पार्टीका विभिन्न तहका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
पार्टीले ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत सरकारी संयन्त्रमा मौलाएको भ्रष्टाचारलाई जनताको सहभागितासँगै प्रचार, सञ्चार र जनकारबाहीका माध्यमबाट उजागर गर्दै अगाडि बढाउने जनाएको छ।
भ्रष्टाचारविरोधी कार्यक्रम कुनै चुनावी रणनीति नभएर पार्टीको दीर्घकालीन आन्दोलनको हिस्सा भएको इन्चार्ज चापागाईंले बताए। “केन्द्रीय तहदेखि स्थानीय तहसम्म फैलिएको भ्रष्टाचारलाई निर्मूल गरी जनचाहनाअनुसारको शासन व्यवस्था ल्याउनु नै हाम्रो उद्देश्य हो,” उनले भने।
पार्टीले अबको प्राथमिकता भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै संरचनागत रूपमा कारबाहीको दिशा तय गर्नु रहेको समेत जनाएको छ।






