धादिङ । सल्यानटार आरुघाट सडकखण्ड अन्तर्गत पड्केघारी (कालोढुङ्गा) भन्ने स्थानमा गएराति भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्।
धानको पराल र यात्रु बोकेको बा.प्र. ०३-००१-च-०६२३ नम्बरको योद्धा गाडी राति ८ बजेर १५ मिनेटमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनापछि घाइतेहरुलाई सल्यानटार प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिँदैछ। घाइतेहरूमा जौमाया कुमाल, कमला कुमाल, सेतु कुमाल, भोजराज कुमाल, प्रकाश कुमाल, र भगवती कुमाल रहेका छन्।
यसैबीच, गम्भीर घाइते भएका इन्दिरा कुमाल, भक्कु कुमाल र सम्झना कुमाललाई काठमाडौँ ट्रमा सेन्टरमा रिफर गरिएको छ।
गाडीमा धानको परालसहित यात्रुहरूको चाप बढी भएको प्रारम्भिक विवरण आएको छ भने दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाडी चालक २३ वर्षिय सर्जुमान कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले घटनास्थलमा पुगेर उद्धार कार्य र छानबिन अघि बढाएका छन्।






