धादिङ — नेत्रावती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न गाउँसभाको १७औँ अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।
गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सितामाया चोदेनले गाउँपालिकाको तर्फबाट कुल रु ४६ करोड २७ लाख ३२ हजार २९१ रुपैयाँको बजेट पेश गर्नुभएको थियो।
गाउँसभाले नीति तथा कार्यक्रम तथा बजेटलाई सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्ष विकास र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा दिगो विकासका संवैधानिक लक्ष्यहरू हासिल गर्ने उद्देश्यसहित भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ। साथै, गाउँको समृद्धिको आधार तय गर्न नीतिगत तथा व्यवहारिक पहल गरिने उल्लेख गरिएको छ।






