काठमाण्डौं, असार १०
आज देशका विभिन्न भागमा मौसम बदली रही हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
यससँगै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा तथा अन्य प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेको क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरो, बाढी र यातायात अवरोधजस्ता सम्भावित जोखिमबाट सचेत रहन पनि आग्रह गरिएको छ।






