धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले गाँजा ओसारपसारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा २०८२ भदौ १२ गते दिउँसो करिब १२:३० बजे इलाका प्रहरी कार्यालय गजुरी चौकीबाट खटिएको टोलीले गाडी जाँच गर्ने क्रममा धादिङको गल्छि गाउँपालिका–६, कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।
स्कुटरमा लुकाई ल्याइएको अवस्थामा करिब १० किलो २४० ग्राम गाँजा जस्तो देखिने अवैध पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त स्कुटर कास्की जिल्ला पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय सञ्जय केसीले चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका केसीलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाहीको लागि जिल्ला अदालत धादिङमा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुबास हमालले जानकारी दिनुभयो ।






