काठमाडौं। देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
यसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।






