फुर्केखोला पुल बगेको तीन साता पुग्दा पनि पुनर्निर्माणमा ठोस पहल नभएको भन्दै प्रश्न, ‘स्टाटस होइन परिणाम चाहियो

धादिङ । धादिङ क्षेत्र नं. २ का सांसद बोधनारायण श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोमा दिएको अभिव्यक्तिपछि उहाँप्रति पत्रकार तथा नागरिकस्तरबाट आलोचना बढेको छ।

सांसद श्रेष्ठले भिडियोमार्फत विपद् आएपछि राहत र उद्धार कति भयो भन्दा पनि विपद् आउनुपूर्व तयारी कस्तो गरेका छौँ भन्ने महत्वपूर्ण हो भन्ने धारणा सार्वजनिक गरेको थियो। तर, धादिङमा भोटेकोशीको बाढीका कारण फुर्केखोलाको पक्की पुल बगेको तीन साता पुग्न लाग्दा समेत नागरिकले भोगिरहेको यातायात संकट समाधानका लागि सांसदको प्रभावकारी पहल नदेखिएको भन्दै उक्त अभिव्यक्तिमाथि प्रश्न उठाइएको हो।

फुर्केखोलाको पुल बगेपछि धादिङबेँसीसहित मध्य तथा उत्तरी धादिङका विभिन्न स्थानीय तहसँगको यातायात सम्पर्क प्रभावित भएको छ। वैकल्पिक सडकबाट सहज आवागमन हुन नसक्दा खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधिलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ।

बिरामीलाई अस्पताल पुर्‍याउन कठिनाइ, विद्यार्थी तथा सर्वसाधारणको आवागमनमा समस्या र व्यवसायी तथा उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिएको स्थानीयको गुनासो छ।

यस्तो अवस्थामा सांसद श्रेष्ठले विपद्पूर्व तयारीको विषय उठाएपछि पत्रकारहरूले प्रश्न गरेका छन्— विपद्पूर्व तयारी आवश्यक थियो भने अहिले विपद्पछि तत्काल राहत, उद्धार र यातायात व्यवस्थापनका लागि निर्वाचित जनप्रतिनिधिको भूमिका के हो?

नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम अधिकारीले सांसदहरूलाई सार्वजनिक अपिल गर्दै आदर्शले होइन, व्यवहारले मन जित्नुस् भनेका छन्। उनले भत्किएको पुलसँगै नागरिकको आशा र भरोसा पनि जोडिएको भन्दै संकटको समयमा जनप्रतिनिधिले परिणाम देखाउनुपर्ने बताएका छन्।

पत्रकार नारायण सिलवालले फुर्केखोलाको पुलको विकल्पमा तत्काल अस्थायी पुल निर्माण गरी त्यसपछि पक्की पुल निर्माण गर्न सरकारसँग सांसदहरूको स्पष्ट ‘बटमलाइन’ हुनुपर्ने धारणा राखेका छन्। सरकार र प्राविधिक पक्षले काम गर्न नमिल्ने भनेको हो भने त्यसको कारणसमेत जनतालाई स्पष्ट रूपमा बताउनुपर्ने उनको भनाइ छ।

त्यस्तै पत्रकार अर्जुन श्रेष्ठले पनि सांसद श्रेष्ठप्रति धादिङवासीको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिनुभन्दा संकटको समयमा परिणाम देखाउनुपर्ने बताएका छन्।

उनले सांसदहरूप्रति लक्षित गर्दै नागरिकले स्टाटस होइन, संकटका बेला परिणाम खोजेको बताएका छन्।

फुर्केखोला पुल मात्र नभई बाढीपहिरोका कारण धादिङका विभिन्न क्षेत्रमा सडक, पुल, झोलुङ्गे पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। यस्तो अवस्थामा क्षतिको यथार्थ विवरण संकलन, तत्कालीन वैकल्पिक यातायात व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि राज्यलाई दबाब दिने काममा निर्वाचित सांसदहरूको भूमिका महत्वपूर्ण हुने नागरिकको अपेक्षा छ।

सांसद श्रेष्ठको ‘विपद्पूर्व तयारी’ सम्बन्धी अभिव्यक्तिले भने अहिले अर्को प्रश्न जन्माएको छ— विपद् आउनुअघि तयारी भएन भने त्यसको जिम्मेवारी कसले लिने र विपद् आइसकेपछि नागरिकलाई तत्काल निकास दिने जिम्मेवारी कसको हो?

स्थानीय नागरिकको भनाइमा जनप्रतिनिधिले विगतमा कसले के गरेन भन्ने हिसाब खोजेर मात्र पुग्दैन। अहिले आफू निर्वाचित भएको अवस्थामा जनताले परिणाम खोजिरहेका छन्।

फुर्केखोला पुल पुनर्निर्माणमा तत्काल पहल, वैकल्पिक यातायातको सहज व्यवस्था, बाढीपहिरो प्रभावितको राहत तथा पुनःस्थापनामा प्रभावकारी भूमिका र क्षतिको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।

धादिङका युवाहरुले सामाजिक सञ्जालमा  सञ्चालन गरेको #कनेक्टधादिङ अभियानका बिषयमा समेत सांसद श्रेष्ठले घुमाउरो पाराले असहमती व्यक्त गरेका छन् ।

भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन भन्दै सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान थालेका छन्।

सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान चलाउँदै उनीहरूले पुलको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरिरहेका हुन्। उनीहरूले सम्बन्धित निकायलाई फुर्के खोला पुलको तत्काल अस्थायी र दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाउन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0