काठमाडौं, भदौ २३ ।
आज राजधानीमा जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक नागरिकले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्। प्रदर्शनमा विभिन्न स्वार्थी समूहको घुसपैठका कारण शान्तिपूर्ण आन्दोलन हिंसात्मक मोड लिँदा यस्तो दुःखद् स्थिति उत्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीले आजै वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई उचित राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “हाम्रो छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नेमा हामी आश्वस्त थियौँ। तर प्रदर्शनमा भएको घुसपैठले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरियो। राज्यको सम्पत्ति जोगाउने क्रममा अप्रिय स्थिति सिर्जना भयो र यसै क्रममा नागरिकको ज्यान गयो।”
ओलीले प्रदर्शनका आयोजकहरूले नै आन्दोलनमा घुसपैठ भएको स्वीकार गर्दै कार्यक्रम अन्त्यको घोषणा गरिसकेपछि केही समूहले तोडफोड र आगजनी गरेको तथ्य उल्लेख गरे।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विषयलाई लिएर आन्दोलन चर्किएको भन्दै उनले सरकारले कहिल्यै सामाजिक सञ्जाल बन्द गर्ने नीति नलिएको स्पष्ट पारे। उनका भनाइमा सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचिकरण नगरेका प्लेटफर्मलाई मात्र अस्थायी रूपमा रोकिएको हो।
“राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सरकार प्रयासरत छ। नयाँ पुस्ताले बुझाइमा पारेको अस्पष्टताले आजको अवस्था सिर्जना भएको हो, तर प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारकै हो,” ओलीले भने।
प्रधानमन्त्री ओलीले घटनाको सत्यतथ्य पत्ता लगाउन १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने घोषणा समेत गरेका छन्। साथै, भविष्यमा यस्ता दुर्घटनाबाट बच्न आवश्यक कदम चालिने प्रतिबद्धता पनि जनाएका छन्।






