गोपाल फ्युबा तामाङ

पृष्ठभुमी

नेपालको इतिहासमा खनियाबास विद्रोह एक महत्त्वपूर्ण सामाजिक र आर्थिक आन्दोलनका रूपमा दर्ज छ, जसलाई कहिलेकाहीँ ‘खनियाबास काण्ड’ भनेर पनि चिनिन्छ। यो विद्रोह मूलतः वि.सं. २०१६ सालको पुस २५ गते धादिङ जिल्लाको (तत्कालीन नुवाकोट जिल्लाको पश्चिम १ नम्बर निर्वाचन क्षेत्र) खनियाबास गाउँमा सुरु भई करिब डेढ वर्षसम्म चलेको थियो। यो आन्दोलन विशेष गरी स्थानीय तामाङ समुदायले सामन्ती शोषण, चर्को ब्याजको पासो र जातीय उत्पीडनविरुद्ध गरेको प्रतिरोध थियो। यस विद्रोहको तात्कालिक उद्देश्य साहू महाजनबाट लिएको ऋणको तमसुक च्यात्नु र उनीहरूबाट लुटेको नगद तथा जिन्सीको बदलामा आफ्नो शोषणको हिसाब चुक्ता गर्नु थियो।

खनियाबासको भौगोलिक अवस्थिति पहिले नुवाकोट जिल्ला अन्तर्गत पथ्र्यो भने अहिले यो धादिङ जिल्लाको एउटा गाउँपालिका बनेको छ, जसले यस स्थानको निरन्तर राजनीतिक र प्रशासनिक परिवर्तनलाई पनि दर्शाउँछ। यस विद्रोहको नेतृत्व दामन पाख्रिन र सेक्के तामाङले गरेका थिए, जसले यसलाई एउटा संगठित रूप दिएका थिए।

खनियाबास विद्रोहको समय नेपालमा प्रजातन्त्रको उदयसँगै राजनीतिक परिवर्तनको लहर चलेको थियो। २०१५ सालमा पहिलो संसदीय निर्वाचन सम्पन्न भई नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको थियो। यस राजनीतिक परिवर्तनले स्थानीय स्तरमा विद्यमान सामाजिक असन्तुष्टिहरूलाई राजनीतिक चेतनाको माध्यम दियो। नेपाली कांग्रेस, गोरखा परिषद् र अन्य दलहरूले यस विद्रोहलाई आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गर्ने प्रयास गरे। यद्यपि, केही स्रोतले विद्रोहलाई सुरुमा नेपाली कांग्रेसका गोपालचन्द्र श्रेष्ठ र मोहनविक्रमध्वज जोशीजस्ता नेताहरूले प्रोत्साहन गरेको आरोप लगाएका छन्।

विद्रोहको यो राजनीतिकरणले यसको मूल उद्देश्यमाथि विभिन्न दृष्टिकोण उत्पन्न गर्‍यो। नेपाली कांग्रेस सरकारले शान्ति स्थापना गर्न असफल भएको भनी यो विद्रोहलाई तत्कालीन सत्तापक्षको कमजोरीको रूपमा प्रस्तुत गरियो। पछि, राजा महेन्द्रले वि.सं. २०१७ सालमा गरेको ‘कू’ लाई पनि यस विद्रोहसँग जोडेर हेर्न सकिन्छ। कतिपय विश्लेषकहरूले महेन्द्रले यस विद्रोहलाई कांग्रेस सरकारको कमजोरी प्रमाणित गर्ने एक साधनको रूपमा उपयोग गरेको मान्दछन्। यसरी, खनियाबास विद्रोह जनताको मुक्तिको आन्दोलन मात्र नभई राष्ट्रिय राजनीतिक दलहरूको सत्ता संघर्ष र महेन्द्रको प्रजातन्त्रमाथिको हस्तक्षेपका लागि एउटा राजनीतिक अस्त्र पनि बनेको थियो। यसले विद्रोहको शुद्धता र यसका वास्तविक लक्ष्यहरूलाई राष्ट्रिय राजनीतिको खिचातानीमा धकेलेको देखिन्छ।

तत्कालिन राजनितक परिदृष्य र चुनावको माग

१८ फरवरी १९५१का दिन मोहनशमशेरको प्रधानमन्त्रीत्वमा संयुक्तरुपमा राणा कांग्रेसका दश सदस्यीय अन्तरिम मन्त्रीमण्डल बन्यो (शाहः ई. २०१४) । श्री ३ को रवाफमा श्री ५ गुप्तवासमा राखेकाले भारतको सहयोगमा राजा त्रिभुवन दिल्लीको शरणमा पुगेपछि नेपाली कांग्रेसले गठन गरेको मुक्तिसेनाले देशका प्रमुख नाकाहरु नियण्त्रणमा लिन थाले पछि १०४ वर्षिय जहानिया एकतान्त्रिक राणाशासन ढलेको थियो ।

२००७ चैत्र ९ (३० मार्च १९५१) मा अन्तरिम संविधान २००७ लागु गरियो । नेपालमा सामाजिक समानता, न्याय र राजनैतिक स्वतन्त्रता ल्याउनको लागि प्रथम प्रयास थियो । विक्रम संवत २००४ मा नेपाल सरकारको कानुन बनाइए पनि प्रतिगामी राणाहरुको समूहले रुचाएन । श्री ३ सँगै  अन्ततः सुधारवादी श्री ३ पदमशमशेरलाई पो निर्वासित गराएर लागु हुन दिएको थिएन  (ऐतिहासिक व्यक्तित्व ः गिरिजाप्रसाद कोइराला) ।

वीर गोर्खा दलको नाममा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद माथि सांघातिक हमला भएको थियो । त्यसबेला एकजना मानिस पनि गोली लागेर मरेको थियो । ‘परिवर्तन र हलचलको अवस्था तथा सबैलाई अब के हुन्छ भन्ने द्विविधा भइरहेको कालमा जनता भड्कनु सम्भव र स्वभाविकै हो (कोइराला ः २०६६) ।’ नेताले त्यसो भन्दा पनि त्यसको प्रतिशोध स्वरुप ‘एउटा उत्तेजित भिडले भरतशमशेरको मोटरलाई जलाइ दिएको (शाह ः २०५६)’ थियो ।

सन् १९५०को दशक नेपालको राजनैतिक वातावरण निरन्तर उथलपुथल भइरहेको थियो । सरकार परिवर्तन, राजनैतिक समूह र पार्टीहरु फुट्नु, टुट्नु र तितरबितर हुनु सामान्य कुरा थियो । यो राजनैतिक निस्क्रियता र आर्थिक आलस्यताको दशक थियो (ऐतिहासिक व्यक्तित्व ः गिरिजाप्रसाद कोइराला, ११) । राजा खेलमा जित्दै थियो भने पार्टीहरु समानन्तर कमिटि खडा गर्दै फुट्दै हार्दैै थियो । जति टाढा चुनाव जान्थ्यो त्यति नै जनताबाट दलहरु टाढा हुन्थ्यो ।

नेपाली राजनीतिमा नेताबीचको व्यक्तिगत रडाको र मन्त्रालयमा स्थान पाउनको लागि हुने बेला बेलामा दरबारसँग सूत तान्ने क्रियाकलापहरु विद्यमान थिए (ऐतिहासिक व्यक्तित्व ः गिरिजाप्रसाद कोइराला) । यस्तै मौका पारी राजाले जानीजानी राणाका उग्र समर्थकहरु र प्रजातन्त्रको कारण आफ्नो पद खोसिएकाहरु सामेल गराइ शिष्टमण्डल, परामर्श समिति गठन गरेर अल्याङमल्याङ गर्दै थिए । योद्धाहरुका आशा र चाहनाहरु पूरा गर्न, प्रजातन्त्रको फल गरिबको पनि गरिबले पाउन, क्रान्तिको निर्माणात्मक पूर्णताको लागि चुनाव अनिवार्य थियो । नेताको लागि भन्दा पनि दूर्गममा रोग भोक र कुपोषणले ग्रस्तहरुको जीवनस्तर उकास्नको लागि, सबैका मुक्तिको लागि संघर्षमय सामेल भएका थिए, जीवन नै वलिदान दिएका थिए । साधारण मानिसले पनि समाजमा सममानका साथ आर्थिक, राजनीतिक र सामाजिक न्यायको अपेक्षा गरोस् भन्ने थियो । तर ती सपनाहरु भ्mन टाढा टाढा पुग्दै थियो । बिक्रम संवत २००७ सालको परिवर्तनले आत्मसात गरेको बिधानसभा चुनाव ००९, ०१२ र २०१४ साल हुँदै टार्दै गएको थियो ।

बिक्रम संवत २००७ सालको क्रान्तिले नेपाललाई परिवर्तनको तीब्र भेलमा समाहित गरिदिएको थियो । परिवर्तनको यस्तो भेलमा डुंगा, यात्रु र माझी पनि शान्त र स्थिर रहन सक्दैनन् । नेपालमा उथलपुथल जारी रह्यो । खासमा सात सालको लगत्तैपछि नेपाली समाजमा यथास्थितिवाद र अग्रगमनको तीब्र संघर्ष शुरु भइसकेको थियो । नेपाल लामो समयदेखि तामसिकता र जडतामा जगडिएर रहेको थियो (कोइराला ः राजनीतिक अभिलेख) ।

खासगरी नेपाली कांग्रेसप्रति लक्षित यस प्रकारको दरवारीय कदमबारे जनतासम्म पुग्नु पर्ने थियो । यही अवसरमा नेपाली राष्टिय कांग्रेस र नेपाल प्रजा परिषदसँग मिलेर २०१४ श्रावण १४ गते प्रजातान्त्रिक मोर्चा गठन भयो । असोज २२ मा मोर्चाको विरगञ्ज सम्मेलनले आमचुनाव घोषणाको माग गर्दै मंसिर २२ देखि भद्र अवज्ञा आन्दोलन तथा सत्याग्रह आन्दोलन गर्ने निर्णय गर्यो ।

हामीले सत्याग्रहको तिथि निश्चित गरिसकेका छौं । निर्वाचनको मिति तोकियोस् भन्ने सत्याग्रहको एकमात्र माग हो । त्यो माग पूरा गर्न राजाले दिएनन् भने देशभरी सत्याग्रह आन्दोलन हुनेछ र निर्वाचनको मिति तोक्न बाध्य गरेर मात्र यो आन्दोलन रोकिने छ । यदि विलम्ब नगरी राजाले चुनावको तिथि तोके भने मंसिर २२ देखि देशव्यापीरुपमा सञ्चालन हुने भद्र अवज्ञा आन्दोलन स्थगित हुनसक्छ । अन्यथा आन्दोलन रोकिने छैन (बस्नेत ः २०७३)  ।

आन्दोलनको तयारीमा मोर्चाको दौडधुप बढेको सूचना पाए पछि राजाले मंसिर २१ मा राजनीतिक भेलाको आयोजना गर्ने मंसिर १८मा जानकारी दियो । आन्दोलनको तयारी उत्कर्षमा पुगेको समयमा गरिएको भेलाको एक मात्र उद्देश्य मोर्चाको आन्दोलन रोक्नु नै थियो । तर मोर्चाका नेताहरुले चुनावको मिति नतोकिएसम्म आन्दोलन कदापि नरोकिने कुरा राजा महेन्द्रलाई स्पष्ट पार्ने अवसरको रुपमा प्रयोग गरेका थिए ।

देशभरी आन्दोलनको तयारीमा लागेका सबै साथीहरुले द्विविधा र भ्रममा नपरी आन्दोलनलाई संगठित र व्यापक पार्नुहोस् । चुनावको तिथि घोषण होस् भन्ने हाम्रो माग हो । यो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ (बस्नेत ः २०७३) ।

अन्तत आन्दोलन भएरै छाड्यो । मंसिर २७ देखि धर्ना मात्र नभइ जुलुस, विरोधसभा, बजार बन्द, शिक्षण संस्था बन्द, सवारी साधन सञ्चालन बन्द, राती केही घण्टा ब्ल्याक आउट आदि कार्य पनि गर्न थाले । देशभर जस्तै पश्चिम १ नम्बरमा पनि भयो । यहाँ जगतप्रकाश जंग शाह, मोहन विक्रमध्वज जोशी, गोपालचन्द्र अमात्य, ललित बहादुर घले, कुलबहादुर तामाङ, दामन पाख्रिन, आइतराम तामाङ आदिको नेतृत्वमा आन्दोलन भएको थियो । गोरखा परिषदका कार्यकर्ता समेतको सहयोगमा असफल पार्ने सरकारी अवरोध आन्दोलनकारीले प्रतिकार गरे ।

चुनावको घोषणा र अन्योलता

भद्र अवज्ञा आन्दोलन कै क्रममा पौष १ गते सम्बोधन मार्फत राजाले बिक्रम संवत २०१५ फागुन ७ गते चुनाव हुने घोषणा गरे र आन्दोलन रोकियो । चुनाव एउटा चुनौतिकोरुपमा स्विकार गरेर गाउँगाउँमा चुनावको महत्व सम्झाउने र उसका लागि उपयुक्त जनसंगठनको निर्माण गर्ने काममा कांग्रेस लाग्यो ।

जनता अन्योलमा थिए । प्रजातन्त्र छ वा नेतातन्त्र वा राजतन्त्र ?त्यसबेला जनतालाई प्रगतीशील वा प्रतिक्रियावाद, प्रजातन्त्र वा एकतन्त्र, जनता वा दरवार, लगायतका प्रश्नहरु थिए । त्यसको उत्तर ०१५ सालको चुनावले दिनुथ्यो । आफ्ना सारा सवालहरुलाई मतदान मार्फत दिनुथ्यो । नेपाली जनताले पहिलो पटक यसप्रकारको मौका पाएको थियो ।

बिक्रम संवत २०१५ वैशाख १ गतेसम्ममा २१ वर्ष उमेर पुगेकाहरु मतदाता हुने । निर्वाचन क्षेत्र १०९ वटा हुने । पश्चिम १ नंवरमा १०६, १०७ र १०८ गरी ३ निर्वाचन क्षेत्र पर्दथ्यो । सो निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ६८ मतदाता रहेको थियो । ९ वटा दलहरु र अन्य स्वतन्त्र उमेद्वारहरु गरी जम्मा ७८६ जना थिए ।

बिक्रम संवत २००७ सालको एकतन्त्रीय जहानिया राणा शासनलाई समाप्त पार्ने, चुनाव गराउन सत्याग्रह गर्ने पार्टी नेपाली कांग्रेस भएकाले चुनावमा जित्ने सम्भावना बढी सो पार्टीकै थियो । घोषणा पत्रमा मानिसलाई मानिसले शोषण गर्ने छैन, जहाँ धनी गरिबको भेदले उत्पन्न भएका अनेकानेक सामाजिक अन्यायहरु समाप्त भइ देशका तमाम नागरिकहरु एउटा ठूलो परिवारका सदस्य सरह आपसी मेल, सद्भावना र सहकारिताको आदर्शले प्रेरित भएर राष्ट्रलाई उन्नतिको बढि से बढि अवस्थामा पुर्याउने प्रयत्न हुनेछ । गाउँ र किसानहरुको सम्पन्नताको सम्बन्ध केवल अधिकांश जनताको सम्पन्नतासँग मात्र छैन, यसको सम्बन्ध देशको उद्योगधन्दाको विस्तार र उन्नतिसँग पनि छ । भूमिबाट सामन्ती शोषणलाई अन्त गर्नु र किसानहरुको अधिकारलाई सुरक्षित पार्नु । किसानहरुमाथिको दबाब, अन्याय र अत्याचारलाई अन्त गरेमा भूमिमा सुधार ल्याउनका लागि चाहिएको मनोवैज्ञानिक प्रेरणा समाजलाई प्राप्त हुनेछ । बिर्ताहरुको राष्ट्रियकरण, जमिनदार प्रथाको उन्मुलन, भूमिको अधिकतम सीमा निर्धारण र अधिक भूमिको पुनर्वितरण गर्ने किसान केन्द्रित योजनाहरु थिए । दरिलो, बलियो र आँटिलो सरकार निर्माण गर्ने प्रतिबद्धता थियो । नेपाली कांग्रेसको घोषणा पत्रमा यही सन्देश उल्लेख गरिएको थियो । भने विपक्षी गोरखा परिषदमा राणाकालमा उच्च पदमा बसेका पुरातनपन्थीहरु थिए ।

राजा महेन्द्रलाई नेपाली कांग्रेसले विजय प्राप्त गर्ला भन्ने पीर थियो किनकी अन्य दलहरुको राष्ट्रव्यापी संगठनको जग नै थिएन । त्यसैले बडाहाकिमहरुलाई धाँधली गराउन लगाई सल्लाहकार समितिको चुनाव गरी शक्ति परिक्षण गरेका थिए । नेपाली कांग्रेसप्रतिको जनलहर देखेर चुनाव हुन नदिन राजाले अनेक कदम चालेका थिए । कर्मवीर महामण्डललाई चुनाव चिन्ह दिन हुकुम प्रमांगी (मंसिर १७ गते), महासभामा चुनाव गर्न नहुने निर्णय पारित (मंसिर २५ गते) र नेपालीत्व रक्षा संघले काठमाडौमा जुलुस प्रदर्शन (पौष ५ गते) गराएका थिए ।

नेपालीत्व रक्षा संघमा विभिन्न ४२ वटा संघसंस्था सामेल थियो । त्यसलाई कमिस्नर विष्णुमणि आचार्य, मन्त्री भूपालमानसिंह कार्की र मन्त्री पुरेन्द्र विक्रम शाह मार्फत राजाको सहयोग पुग्दथ्यो । तर पौष ६ गते चुनाव चाहने समूहले जुलुसमा आक्रमण गरेका थिए । त्यसैले सोही दिन ३ बजेदेखि सल्लाहकार सभाको बैठक स्थगित भएको थियो ।

सकेसम्म चुनाव टार्ने नसकेपछि कमजोर व्यक्तिलाई सत्तामा राखेर आफ्नो हातमाथि पार्ने दरवारको रणनीति थियो । त्यसै अनुरुप राजा महेन्द्रले भाइ हिमालयको मातहतमा विशिष्ट व्यक्तिहरु रहेको एक अति गोप्य विशेष कार्यदल गठन गरेका थिए । त्यसमा स्वकीय सचिव हंसमान सिंह, एडीसी शेरबहादुर मल्ल, कमिस्नर विष्णुमणि लगायतले सहयोग गरी कांग्रेस हराउ अभियान सञ्चालन गरेका थिए । त्यस कार्यदलले पर्याप्त राजनीतिक चेतना नभएका कारण राजनीतिक दलभन्दा स्थानीय स्वतन्त्र उमेद्वार पर्नेछन् भन्ने निष्कर्श निकालेका थिए । नेपाली कांग्रेससँग योजना, कार्य नीति सबै भए पनि गरिब र अशिक्षितहरु घोषणा पत्रको भविष्यको राम्रा सपनामा भन्दा वर्तमानको दाल भात र कौडीमा बिक्ने विपक्षीहरुले बुझेका थिए ।

खनियाबासको सवाल

बिक्रम संवत २००७ सालको क्रान्तिबाट जनचेतना ह्वात्तै बढेपनि उपत्यका वरपर सेना प्रहरी परिवारको प्रभाव थियो । त्यसैले राणा र राजाको दरवार आसपासको प्रभाव पर्दथ्यो । राणा परिवारका भाइभारदार, चाकडीदार, आठ पहरियाका जग्गा कमाउने मोहीहरु गोरखा परिषदका समर्थक थिए । तर जनसमुदायमा एकसय चारवर्ष देशको खुन खाको, पल्किएर फेरी भोट माग्न आको (बस्नेत ः २०५३) भनी व्यंग्यात्मक गीत गाउनुका साथै नेताहरु ठाउँ ठाउँमा लखाटेका थिए । तर खनियावासमा भने वीर भरत जिन्दावाद, कांग्रेस पार्टी रुख मुनी वास, कांग्रेस पार्टी चिन्दैन, कसैले ट्याक्स तिर्दैन भन्ने नारा घन्काएका थिए । गोरखा परिषदले गाएको चुनावी गीत

भरतलाई भोट दिऔं हजुर

कांग्रेसलाई चोट दिऔं हजुर

ललितलाई भोट दिऔं हजुर

झुपडीमा भोट दिऔं हजुर

(सल्चलम)

धेरैको सल्लाह परिवर्तनको वाहक नेपाली कांग्रेसको रुख चिह्नमा मत हाल्ने थियो । तर भोटको दिन खनियावासका प्रायःले नेपाल राष्टवादी गोरखा परिषदको झोपडी चुनाव चिह्नमा मत हालेका थिए । भोलिको परिवर्तनभन्दा आजको दाल चामलमा भोट बेचे । जातिय मतले पनि काम गर्यो । ललितमान घले निर्वाचित भए । सल्चलमको जानकारी अनुसार खनियावासको बुथमा धानको बालामा भोट गर्न रु २०० खर्च गरेका थिए । यो संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिह्न थियो । जनतालाई असहनीय थिचोमिचो गरेर अनेक शोषण र दमनको आडमा खडा भएको एकतन्त्रीय शासनलाई समाप्त पारेर देशमा नेपाली कांग्रेसले नै प्रजातन्त्र स्थापना गरेको यथार्थलाई यहाँ बुझाउन सकिएन । बरु जनतालाई झुट्टा आश्वासन दिएर तत्काल लाभ उठाइहाल्ने किसिमले परिचालित गर्दै जनताको अग्रगामी परिवर्तन नचाहने जात जाति र धर्मको आडमा भ्रम फैलाउन सफल भइ संकुचित धारणा राख्ने गोरखा परिषद पार्टीले खनियावास क्षेत्रबाट जिते ।

अनि देशको कुरा

बिक्रम संवत २००७ सालको क्रान्तिले परम्परागत नेपाली समाजमा ठूलो हलचल ल्याइदिएको थियो । युगौंदेखि संगठित रहेको मूल्य, मान्यता र स्वार्थ खलबलिएको थियो । कालको ओखती छैन हुकुमको जवाफ छैन भन्ने समाजले क्रान्ति, समाजवाद र साम्यवादबाट प्रेरणा लिएको थियो । खासगरी ००७ सालको लगत्तैपछि नेपाली समाजमा यथास्थितिवाद र अग्रगमनको तीब्र संघर्ष शुरु भइसकेको थियो । नेपाल लामो समयदेखि तामसिकता र जडतामा जकडिएर रहेको थियो । महेन्द्र शक्तिशाली, चलाख र महत्वकांक्षी राजा थिए । तदनुरुप उनले राजनीतिक दलहरुलाई अलमल्याइ लडाउने र तोडफोड समेत गर्ने गराउने गर्दथे । नेपाली राजनीतिमा दरवारको प्रत्यक्ष र असुभ हस्तक्षेप मातृकाप्रसाद कोइरालालाई बनाइएबाट प्रारम्भ भएको थियो ।

नेपाली कांग्रेस मध्यकान्तिपूर शाखा, बि.स. २००८ चैत्र २५ मा प्रकाशन गरिएको नेपाली कांग्रेसको निमित्त लोकतान्त्रिक समाजवादी घोषणा पत्रमा नै “रजौटा शासन, विर्ता र जमिन्दारी प्रथाको पूर्णतः नाश गरेर उच्च मध्यम वर्गको स्वार्थको समेत विलय र पूरानो सामन्ती प्रथाको नाश गर्नुको साथै निम्न मध्यम वर्गको महत्वाकांक्षाको पनि सीमा निर्धारण गर्न हामीले प्रत्येक व्यक्तिको भू सम्पत्तिको सीमा पनि किटान गर्नुपर्छ” भनेर लेखिएको थियो । सायद राजा यहीसँग डराएर चुनावदेखि भाग्दै थियो ।

उही कुरा दोहोर्याएर नेपाली कांग्रेसको घोषणा पत्रको प्रारुप २००९ जेठमा पनि भूमिकै कुरा, गरिव, शोषित, पीडितहरुको आवाज उठाउने प्रतिवद्धता जायर गरेक थियो । “भूमिको स्वामित्वको आधारमा जुन शोषण समाजमा  अहिले चलिरहेको छ, त्यसको अन्त गर्नु पर्ने … विर्तावालहरुले पनि रैकरसरह मालमा सरकारलाई तिरो बुझाउनु पर्छ … उनीहरु आफै खेती गर्ने या खेतीमा बटैया लगाउने हुनाले निम्नस्थ विर्तावालहरुको हितको रक्षा हुन्छ … पश्चिमतिर उल्टा बटैयाका प्रश्नलाई लिएर किसानहरुमा ठूलो बेचैनी छ । किसानहरुलाई भूमिपतिहरुले अकारण बेदलखी गरिदिने हुनाले उनीहरुमाथि ठूलो अन्याय भइरहेको छ । … किसानले उपजको ३ हिस्सामा २ हिस्सा पाओस् । …ठूलाठालुहरुको किसानमाथिको रवाफ मूख्य जरिया हुन्छ ऋण । सरकारले किसानहरुलाई सुविस्ता दिनका लागि जस्तै ऐन बनाए तापनि सुगमतासँग ऋण पाउने अरु कुनै उपायको अभावमा ती गरीव किसानहरुले घोटिएर फेरि तिनै शोषक ठालु कहाँ नै पुग्नुपर्छ । तसर्थ जिल्लामा जिल्ला पञ्चायतको सञ्चालनमा किसानहरुलाई साधारण व्याजमा कर्जा दिनका लागि अन्नकोषको स्थापना हुनुपर्छ ।”

यी प्रतिवद्धतासँगै नेपाली कांग्रेसको चुनाव घोषणा पत्र २०१५मा अझ स्पष्ट शब्दमा गरिव किसानहरुको उद्धार गर्ने कुरा उल्लेख गरिएको थियो । “मानिसलाई मानिसले शोषण गर्ने छैन, जहाँ धनी, गरिबको भेदले उत्पन्न भएका अनेकानेक सामाजिक अन्यायहरु समाप्त भई देशका तमाम नागरिकहरु एउटा ठूलो परिवारका सदस्य सरह आपसी मेल, सद्भावना र सहकारिताको आदर्शले प्रेरित भएर राष्ट्रलाई उन्नतिको बढी से बढी अवस्थामा पुर्याउने प्रयत्नमा संलग्न हुनेछन् । … गाउँ र किसानहरुको सम्पन्नताको सम्बन्ध केवल अधिकांश जनताको सम्पन्नतासँग मात्र छैन, यसको सम्बन्ध देशको उद्योगधन्दाको विस्तार र उन्नतिसँग पनि छ । १) भूमिबाट सामन्ती शोषणलाई अन्त गर्नु र किसानहरुको अधिकारलाई सुरक्षित पार्नु, २) वैज्ञानिक ढंग र उपायहरुलाई ग्रहण गरी भूमिको उत्पादन बढाउनु । किसानहरु माथिको अन्याय र अत्याचारलाई अन्त गरेमा भूमिमा सुधार ल्याउनका लागि चाहिएको मनोवैज्ञानिक प्रेरणा समाजलाई प्राप्त हुनेछ । .. जंगलहरुको संरक्षण, ठूलठूला विर्ताहरुको राष्ट्रियकरण, मुलुकभित्रको रजौटा प्रथाको उन्मुलन, जमिन्दार प्रथाको उन्मूलन, अधिकतम सीमा निर्धारण गर्ने र अधिक भूमिको पुनर्वितरण गर्ने, सहकारी खेतीलाई प्रोत्साहन गर्ने, भूमिहीन किसानहरुको बसोबासको व्यवस्था उच्च संस्कृतिको जगमा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न चाहन्छ ।”

यही बिभिन्न प्रतिवद्धता र व्यबहारले गर्दा बिक्रम संवत २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसको शानदार सफलता प्राप्त गरेका थिए । त्यसबेला खनियावासमा पनि कांग्रेसका कार्यकर्ताहरु चारतारे झण्डा बोकेर गीत गाउथे,

मालेमा गाई थारोमा थियो बाच्छी पो ब्यायो रे

नेपाली कांग्रेस पार्टीले बहुमत ल्यायो रे ।

(सल्चलम)

दुई तिहाइ बहुमत राजा महेन्द्रका निम्ति त यो चिताउदै नचिताएको अवस्था थियो । पश्चिम १ नम्बरमा राणा र शाहको प्रतिद्वन्द्व चलेको थियो । पश्चिम १ नम्बरका कांग्रेस सभापति शाह थिए भने क्षेत्रभरी भरतशमशेरको रजगज थियो । पश्चिम १ नम्बरका तीनवटै क्षेत्रबाट गोरखा परिषदले जित्नु र केन्द्रमा दुई तिहाइ बहुमत नेपाली कांग्रेसले ल्याउनुले यो क्षेत्र राजनैतिक खेल मैदान हुने निश्चित थियो । भरत शमशेरले उहिल्यै कांग्रेस विरुद्ध खुकुरी उठाएका थिए । उनलाई कांग्रेस कार्यकर्ताहरुले दात खुस्कने गरी पिटेका थिए । उनका गाडी समेत जलाएर पक्का दुस्मनी बनाएका थिए ।

निर्वाचित सरकारको पहिलो प्राथमिकता नै गरिव किसान लक्षित थियो । त्यसको लागि पार्टीमा पहिल्यै पृथ्वीराज कँडेलको “जमिन्दारी सामन्ती व्यवस्था भएकाले जनताको हितमा ध्यान दिई शीघ्र सरकारले जमिनदारी प्रथाको उन्मुलन गरोस्” भन्ने प्रस्तावको पक्षमा २०१६ वैशाख २७ गते नै निर्णय भइसकेको थियो ।

किसान तथा सर्व साधारण लक्षित सन्देश प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले देशवासीको नाममा वि.सं. २०१६ जेठ १४ गते दिएको थियो । त्यसमा “किसानहरु हाम्रो आर्थिक जीवनका मेरुदण्ड हुन् । उनीहरुको कल्याणले नै समाजको कल्याण हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसो हुनाले स्वभावतः उनीहरुको कल्याणपट्टि हाम्रो सरकारको सर्वप्रथम ध्यान जानेछ” भनिएको थियो ।

प्रधान मन्त्री कै सन्देश बमोजिम नीति तथा कार्यक्रम बन्यो । त्यसमा पनि अन्याय, अत्याचार र शोषणमुक्त समाज बनाउने मुख्य ध्येय राखेको थियो । “शोषणरहित तथा साधनपूर्ण सुखी समाज कायम गर्नु नै आजको सबभन्दा ठूलो फिक्री हो ।” यी र यस्ता कार्यक्रमहरुबारे नेपाली कांग्रेसका उमेद्वार जगतप्रकाशजंग शाहले विश्राम नलिइ गाउँ गाउँमा प्रचार गर्दै रह्यो । उनी पश्चिम १ नम्बरका कांग्रेस सभापति पनि थिए । उनीहरु गाउथे,

ठाडी खोला बग्दै गइ समुन्द्रमा भेटी

काम गर्नेलाई मकै दिन्छ साँहु खान्छ रोटी ।

(सल्चलम)

झुक्याएर र करकापमा पारेर कतिको नामबाट नाजायज किसिमको तमसुक खडा गरी त्यसबाट उनीहरुको घरबास हडप पार्ने अन्यायपूर्ण कार्य अझै पनि धेरै ठाउँमा भइरहेको छ ।” भन्ने जानकारी सरकारसम्म सरकारी संयन्त्रले नभइ कार्यकर्ताहरुले पार्टीमा पुर्याइरहेको थियो । त्यसको प्रतिकार र प्रतिरोध गर्ने निर्णय पनि भएको थियो ।

सरकार क्रान्तिकारी योजना बुनिरहेका थिए भने गरिव जनताले परिवर्तनको महसुस गर्न पाएका थिएनन् । त्यसैले भन्थे,

मन्त्रीहरु सिंहदरवारमा डिठ्ठा भएर बसेकाछन्,

गरिवका छोराछोर िगिठ्ठा खान नपाएर मरिरहेका छन् ।

(सल्चलम)

अझ खनियावासे साँहुहरुको थिचोमिचो, रवाफ, दमन, शोषणमा कुनै कमी आएको थिएन । त्यसैले जगतप्रकाश जंगहरु गीत मार्फत जनतालाई जागरण्न ल्याउने प्रयास गर्दथे ।

खन्छन् खेती तिमी गरिव मध्य दिनको घाममा

मुसलधारे पानी पर्दा छैन ओढ्ने आङमा

रुन्छ गरिव कुनैमा बसेर

पसिना र दुःखलाई सम्झेर

गरिवको छोरा रुन्छ खाना नपाएको दिनमा

साँहुसित माग्न जाँदा दिन्छु भन्छ ऋणमा

रुन्छ गरिव ……………

अन्न जति सबै जान्छ साँहुहरुको घरमा

दुःख गरी निमेक गर्छौ परालको भरमा

रुन्छ गरिव ……………

(डुक्पालम)

चुनावपछि पश्चिम १ नम्बरमा भरत शमशेर राणा बिरोधी अभियान नै चल्यो । त्यो गोर्खा परिषद विरुद्ध थियो । नेपाली कांग्रेसका नेता कार्यकर्ता भने अर्को चुनावको लागि पार्टीको आखडा बनाउने हिम्मतका साथ सक्रियता बढाएका थिए । यस क्षेत्रका जनतालाई नीति र नाराले नभइ आफु स्वयं सजग रहन आह्वान गर्दै थिए । पुस्तौ पुस्तादेखि बसिरहेक ठाउँमा आइ बिभिन्न जालझेल र षड्यन्त्र गरी दास बनाएका थिए । साँहुहरु ऐयासी जीवनमा थिए । गरिवहरु भने घरवास गुमाएर सुकुम्बासी भइरहेका थिए । भोक, तिर्खा, रोगले सताएका कुपोषित अनुहार बोकेर साहुँको घरमा काम नगरी एक छाक पनि खान नसक्ने अवस्थामा थिए ।

बारा सिमरामा बसाइ सरी गएका कञ्चन बहादुर थोकरले एक घतलाग्दो साहुँहरुको षड्यन्त्रको किम्बदन्ति सुनाएका थिए, एकदिन माहुरका उनका गोठालो बाजे चोयाको काम गर्दै थियो ।  पौषको ठण्डीमा लौ जाडो भएछ भनेर उनको जड्यौरी टोपी शिरमय लगाइराखेछन् । एक वर्ष जति पछि फेरी आएर अहो साथी मेरो त्यो ठोपी खै ? भन्न आएछन् । उनले सदाको लागि दिएको ठानी लगाएछन् । भारी बोक्दासमेत लगाएपछि सकिएछन् । टोपी त च्यात्यो बाजे भनेपछि हँ मेरो दुई रुपैया परेक टोपी भन्दै हपकाएछन् । एक मोहोर तिर्नु पर्ने सहमति गरेछन् । तमसुक गर्यो । त्यो तिर्न नसके पछि कुखुरा, बाख्रा हुँदै दुहुना भैसी लगेछन् ।

त्यस प्रकारको षड्यन्त्र, शोषण र अत्याचार गर्थे । सामान्य शोषण उदाहरणका फेहरिस्त कैयौले आफ्ना वा अरुका बताउदथे । त्यसैले वास्तविक मुक्तिका लागि जनता जाग्नु पर्ने आहवान लिएर उनीहरु गाउँगाउँ चहार्दथे । जागरणका गीतहरु गाउँदै गाउँटोल घुम्दथे । गोर्खा परिषदको संसद भएतापनि ललितमान घलेले पनि शोषण, अन्याय र अत्याचार विरुद्ध जनता जाग्नुपर्ने शन्देश दिन्थे । र भन्दथे,

खनियावासमा बाहुनको राज भयो

कांग्रेसको सरकारको लाज भयो

गंगालाल शुक्रराज नेपालीका प्यारा

सामन्तीलाई तोड्ने भए प्रजातन्त्र प्यारा

नेपालमा बाहुनको राज भयो

(ममपरङ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0