धादिङ, असोज ८ – नेपाली काँग्रेस धादिङका सदस्य दीपक कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका छन्। पछिल्लो राजनीतिक उथलपुथल, जेनजी आन्दोलनमा ७२ जनाको बलिदान, व्यापक आगजनी र विनाशपछि पनि पार्टीभित्र संगठन पुनर्संरचना नहुँदा असन्तुष्ट बनेका कोइरालाले फेसबुक स्टाटसमार्फतै राजीनामा सार्वजनिक गरेका हुन्।

कोइरालाले स्टाटसमा लेखेका छन्, जिल्ला कार्यसमितिको सदस्य हुँ भन्न समेत लज्जा महसुस भएको छ। पार्टीलाई व्यक्तिगत प्रभुत्व र गुटउपगुटको राजनीति मात्रै अघि बढाइँदा म आजैदेखि जिल्ला समितिबाट राजीनामा गरेको छु।”

उनले केन्द्रीय सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि भएको आक्रमण र नेताकार्यकर्ताको घर–सम्पत्तिमाथि भएको तोडफोडप्रति दुःख व्यक्त गर्दै पार्टी नेतृत्वले आफ्नै कार्यकर्ताको ज्यान–धन सुरक्षित गर्न नसकेको अवस्थाप्रति प्रश्न उठाएका छन्।

गत भाद्र १ गते नै उनले जिल्ला सभापति सहित सम्पूर्ण कार्यसमितिले सामूहिक राजीनामा दिई युवापुस्तालाई समेटेर नयाँ तदर्थ समिति गठन गर्न आग्रह गरेका थिए। तर, दुई वर्षदेखि कार्यसमिति निष्क्रिय रहेर औपचारिक बैठकसम्म गर्न नसकेको, गुटउपगुटको राजनीति मात्र चलाइरहेको भन्दै उनले राजीनामा सार्वजनिक गरेका हुन्।

यद्यपि, पार्टीप्रति आस्था अझै बढ्ने दाबी गर्दै कोइरालाले परिवर्तित परिस्थितिअनुसार उदाहरणीय संरचना निर्माणका लागि निरन्तर खबरदारी र जागरण अभियानमा लागिरहने बताएका छन्।

कोइरालाको सामाजिक सञ्जालमार्फत गरिएको राजीनामाले धादिङमा काँग्रेस संगठनभित्र नयाँ बहस सुरु हुने देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0