धादिङ — जिल्ला प्रहरी कार्यालय धादिङले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएको मिनी ट्रक (BR 01 GB 8653) मा लुकाइ ल्याइएको २१९.११ के.जि. गाँजा र १२० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो।

२६ गते बिहान करिब ५:४० बजे, बेनीघाट रोराङ गाउँपालिका–४, खटाैती स्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखिएको ट्रकमा चितवनतर्फ लैजाँदै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक जोगीमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार ट्रकको क्याबिन पछाडिको खाली ठाउँमा फल्स बटन बनाई, भित्र रातो प्लास्टिकले बेरिएको र कालो डोरीले बाँधिएको ३० पोका गाँजा भेटिएको थियो। सो क्रममा उक्त ट्रकसहित २ जना व्यक्ति नियन्त्रणमा लिइएका छन्।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी र प्र.ना.उ. विकास थापा नेतृत्वको टोली खटिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामानसहित जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको र लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0