ईश्वर थापा मगर
धादिङ , -स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं विभिन्न तह–तहका कर्मचारीहरूले निजी प्रयोजनका लागि सरकारी साधन दुरुपयोग गर्दै आएको गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्र सक्रिय भएको छ। विवाह, ब्रतबन्ध, मलामी, निजी भ्रमणदेखि पारिवारिक तथा मनोरञ्जनसम्बन्धी गतिविधिसम्ममा सरकारी सवारी साधन प्रयोग गरिएको, इन्धन, चालक भत्ता तथा मर्मत खर्चमा अनधिकृत भुक्तानी लिइएको तथा नियमविपरीत सुविधा उपभोग गरिएकाले हेल्लो सरकारमा उजुरी दर्ता भएको केन्द्रले जानकारी दिएको छ।
उजुरीहरूका आधारमा केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई तत्काल ध्यानाकर्षण गराएको छ। सरकारी स्वामित्वका सवारी र संसाधनहरू व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु कानुनतः निषेधित रहेको याद गराउँदै केन्द्रले दुरुपयोग रोकिने गरी आवश्यक अनुगमन, कारबाही र सुधारात्मक कदम चाल्न स्थानीय तहहरूलाई निर्देशन दिएको हो।
रिपोर्टहरू अनुसार केही स्थानीय तहमा सरकारी स्रोत साधनको अनियमित व्यय, इन्धन खपतको गलत विवरण, मर्मत खर्चको मनपरी दाबी तथा निजी कार्यक्रमहरूमा सवारी परिचालन जस्ता गतिविधि दोहोरिँदा जवाफदेहिता कमजोर भएको देखिएको छ। केन्द्रले यस्ता कार्यले सार्वजनिक सेवा, सुशासन र संसाधनको पारदर्शितामा गम्भीर असर पर्ने भएकाले कडाइका साथ नियन्त्रण गर्न अनुरोध गरेको छ।
सतर्कता केन्द्रले उजुरीहरूको निरन्तर अनुगमन गर्दै आवश्यक परे थप कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
