सर्लाही , २३ मंसिर २०८२

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ मा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार दिउँसो नियमित गस्तीमा खटिएको प्रहरी टोलीले भारत बिहारस्थित सितामढी, ग्राम पंचायत सोनवर्सा–२ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको हो।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको बीआर–३० वाई–३२८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा नगद १२ लाख २९ हजार रुपैयाँ फेला पारी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार महतोले उक्त रकमको स्पष्ट श्रोत नखुलाएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको हो।

घटनास्थलमै प्रारम्भिक सोधपुछपछि महतोलाई रकमसहित प्रहरी कार्यालयमा ल्याइएकाे छ। स्रोत नखुलेको रकम नेपाल भित्र्याउने उद्देश्य, सम्भावित अवैध कारोबार वा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित छ–छैन भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार, रकम ओसार–पसार तथा गैरकानूनी क्रियाकलाप रोकथामका लागि निगरानी कडाइ गरिएको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0