धादिङ, २२ मङ्सिर २०८२ — नेपाल लेयर्स कुखुरापालक संघको आयोजनामा सोमबार धादिङमा सम्पन्न अण्डा उत्पादक किसानहरूको भेला सम्पन्न भएको छ। स्थानीय स्तरमा संगठित र सुरक्षित उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको भेलाले धादिङमा नेपाल लेयर्स कुखुरापालक संघको जिल्ला शाखा गठन गरेको हाे।
संघका केन्द्रीय अध्यक्ष श्री बिनोद पोखरेलको प्रमुख आतिथ्यता र पोल्ट्री व्यवसायी श्री द्रोणप्रसाद लामिछानेसमेतको उपस्थितिमा सम्पन्न भेलाले जिल्लाभर रहेका सबै अण्डा उत्पादक किसानलाई संघमा आबद्ध गराउँदै एकीकृत ढङ्गले अण्डाको उत्पादन, सुरक्षा र बजार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
भेलाले पोल्ट्री क्षेत्रमा बढ्दै गएको जोखिम तथा रोगको सम्भावना ध्यानमा राख्दै जैविक सुरक्षा (बायो–सिक्युरिटी) लाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ। यसअन्तर्गत अण्डा संकलन र ढुवानीमा पुराना प्याक तथा क्रेट प्रयोग नगर्ने, खेतपालुवा सफाइ र रोग नियन्त्रणका उपाय कडाइका साथ पालना गर्ने निर्णय गरिएको छ।
अण्डा उत्पादनमा हुने उतारचढाव, मूल्य निर्धारणमा देखिने असंगति तथा दलाल–प्रभावित बजार संरचनाबाट किसान मारमा परिरहेको अवस्थामा जिल्लामा एकीकृत संघ गठन गरिनु किसानहरूको हितमा महत्वपूर्ण कदम भएको भेलामा सहभागीहरूले बताएका छन्।
भेलाले धादिङमा नेपाल लेयर्स कुखुरापालक संघको तदर्थ समिति समेत गठन गरेको छ। तदर्थ समितिको संरचना यसप्रकार छ—
धादिङ तदर्थ समिति:
संयोजक: श्री गुणबहादुर श्रेष्ठ
सदस्य: श्री राजकुमार श्रेष्ठ
सदस्य: श्री बिना भट्ट पौडेल
सदस्य: श्री सन्तोष छत्कूली
सदस्य: श्री बिष्णु तामाङ
सदस्य: श्री सागर पाठक






