काठमाडौं, १ पौष २०८२ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं टोखा नगरपालिका–३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका–२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेले कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामिछानेलाई काठमाडौं महानगरपालिका–९ बाट सोमबार पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






